ऐतिहासिक मल्लाज दरबार अब रिसोर्ट



प्रताप बानियाँ, म्याग्दी । 

तत्कालीन बाइसे–चौबीसे राज्यका पालामा शक्तिशाली रहेको ऐतिहासिक मल्लाज दरबारमा रिसोर्ट सञ्चालन भएको छ । हाल उत्तरी पर्वतको जलजला गाउँपालिका–३ स्थित मल्लाज माझफाँटमा रहेको मल्लाज दरबारको पुनर्निर्माण गरी रिसोर्टमा सञ्चालक गरिएको सञ्चालक मुकुन्द मल्लले बताउनुभयो ।१० वर्षे जनयुद्धका क्रममा मल्लाज दरबारमा चोरी हुनुका साथ तोडफोड भएको उहाँले जानकारी दिनुभयो । दरबारमा तोडफोड भएपछि त्यहाँभित्र रहेका खुँडा, तरबार, बन्दुक, खुकुरी, ढाल, गोलीगठ्ठालगायत ऐतिहासिकता महत्व एवम् पुरातात्विक सामग्री हराएको उहाँले बताउनुभयो ।

दरबारमा लुटपाट हुनुका साथै तोडफोडबाट जिर्ण बनेपछि आफूले पुनर्निर्माण गरी रिसोर्टका रूपमो सञ्चालनमा ल्याएको मल्लको भनाइ छ । तत्कालीन पर्वत राज्य नेपालमा गाभिएको २ सय ४९ वर्ष पूरा भइसकेको छ । त्यस समयमा पर्वत राज्य शक्तिशाली मानिन्थ्यो । गोरखाका राजा पृथ्वीनारायण शाहले आक्रमण गर्न पर्वत राज्यमा पठाएकोे फौजलाई पर्वत राज्यले हराएको थियो ।ऐतिहासिक महत्व झल्कने दरबार रिसोर्टमा रुपान्तारण भएपछि पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । दरबार पाहुनाका लागि ७ वटा कोठा रहेका छन् भने दरबारभन्दा बाहिरको परिसरमा ७ वटा टेन्ट हाउस रहेको सञ्चालक मल्लले बताउनुभयो । उहाँका अनुसार दरबारमा एक रातमा २८ जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ । उक्त रिसोर्टमा नेपालका साथै विदेशी पर्यटकहरु अस्टेलिया, बेलायत, चीन, कोरिया, जर्मन र स्पेनबाट आउने गरेका छन् ।

रिसोर्टमा क्याम्प फायर गर्न पाउनुका साथै भुटेको मकै, कालीभट्ट, मुस्ताङको आलु तथा अर्गानिक खानाको स्वाद चाख्न पाइने रिसोर्टले जनाएको छ । पर्यटकहरू म्याग्दीको बेनी–मल्लाज–बाँसखर्क–डाँडाकटेरी–नागी–महरेडाँडा हुँदै पुनहिल र घोडेपानी पुगेर फर्किन्छन् । ऐतिहासिक र पर्यटकीय आकर्षणको महत्व बोकेको मल्लाज दरबार चलचित्र, भिडियो डकुमेन्ट्री र विभिन्न कार्यक्रमहरु छायांकनका लागि पनि उपयुक्त स्थल मानिन्छ । यसअघि दरबार परिसरमा छक्का पञ्जा–३ चलचित्रको छायांकनसमेत गरिएको थियो । त्यस्तै मल्ल परिवारले लामाखेतमा पर्यटक लक्षित रेष्टुरेन्ट, स्वीमिङ पुल र गेष्टरुम निर्माण कार्य थालेका छ ।

प्रतिक्रिया दिनुहोस्