प्रदेश गौरवको योजना निर्माण ठप्प



विनोदसिंह विष्ट, बैतडी । 

सुदूरपश्चिम प्रदेश गौरव योजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा काम गर्ने कामदार नपाइएका र निर्माण सामग्री महँगो भएका कारण सडकखण्ड स्तरोन्नतीको काम रोकिएका हो ।

सतबाँझदेखि साढे ६ किलोमिटर कालोपत्रेका लागि काम भइरहेको सो सडक खण्डमा निषेधाज्ञाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताउनुभयो । यस्तै सोही खण्डको श्रीभावरदेखि हाटसम्मको साढे ८ किलोमिटर कालोपत्रे गर्ने कार्यमा समेत बाधा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘कोरोना संक्रमण फैलिएपछि कामदार पाउनै मुस्किल छ,’ चन्द्रा एन्ड बसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता गरेर गत साउनदेखि काम अघि बढाएको थियो ।सतबाँझदेखि साढे ६ किलोमिटर स्तरोन्नती गर्नका लागि १२ करोडमा ठेक्का सम्झौता भएको छ भने श्रीभावरदेखि हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नतीका लागि १७ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । ३ वर्षभित्र काम सक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको भए पनि समयमै सम्पन्न हुने सम्भावना कम रहेको बताइएको छ ।

प्रदेश गौरवको योजनाअन्तर्गत सतबाँझ–श्रीभावर–हाट सडकको स्तरोन्नती गर्ने कार्य सम्पन्न भएपछि यो सडकले नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । यो सडक हाम्रै गाउँपालिका भएर स्तारोन्नती भइरहेको छ उहँँले भन्नुभयो–‘सडक निर्माण भएपछि ग्रामीण अर्थतन्त्रमा सुधार आउने विश्वास छ ।’ तत्कालीन जिल्ला विकास समितिले २०५५ सालमा ट्रयाक ओपन गरेको यो सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको हो । जिल्लामा चालू आर्थिक वर्षमा ५५ वटा सडक निर्माणका काम भइरहेका भए पनि कोरोनाका कारण योजनाहरु प्रभावित भएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्