शेयरका लगानीकर्तालाई एकै दिन ७५ अर्ब फाइदा



काठमाडौं, नेस । 

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५३ दशमलव ४४ बिन्दुले वृद्धि भई २९६० दशमलव १४ बिन्दुमा पुगेको छ । नेप्से हालसम्मकै उच्च बिन्दु हो । कुल २१८ कम्पनीको ३ करोड ५७ लाख कित्ता शेयर १६ अर्ब ९५ करोड १२ लाख रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४१ खर्ब ९ अर्ब ५७ करोड २५ लाख रुपियाँभन्दा बढी रहेको छ ।

मंगलबारमात्रै लगानीकर्ताको सम्पत्ति ७४ अर्ब १९ करोड रुपियाँले वृद्धि भएको छ ।नेप्सेको कुल बजार पुँजीकरण देशको कुल गार्हस्थ उत्पादन जीडीपी भन्दा करिब २ खर्बले बढी रहेको छ । मंगलबार कारोबार भएका १३ समूहमध्ये तीन समूहमात्रै घटेका छन् । यस दिन होटल तथा पर्यटन, लघुवित्त र लगानी समूह ओरालो लागेका छन् भने बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन, अन्य, जीवन बीमा र सामूहिक लगानी कोष बढेका छन् । कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेको छ । सो कम्पनीको मात्रै एक अर्ब छ करोड ६४ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।यस्तै हिमालयन जनरल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । तर, मेरो माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, सामुदायिक लघुवित्त, मिथिला लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

सचेत हुन बोर्डको आग्रह

शेयर बजारमा भएको वृद्धिसँगै जोखिमको स्तर पनि बढ्दै जाने भएकाले चनाखो हुन लगानीकर्तालाई सचेत गराउँदै नेपाल धितोपत्र बोर्डले शेयर कनर्रिङ र सर्कुलर ट्रेडिङका सम्बन्धमा अध्ययन शुरू गरिएको जनाएको छ । बजारमा शेयर कनर्रिङ र सर्कुलर ट्रेडिङ भएको गुनासो आएपछि बोर्डले अध्ययन थालेको हो ।
बोर्डले लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृश्य, सूचीकृत संगठित संस्थाको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण, परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्थासमेत मूल्यांकन गरी लगानी गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्