शेयर बजारको एकपछि अर्को छलाङ

जीडीपीभन्दा बजार पुँजीकरण धेरै माथि



नेपाल समाचारपत्र, काठमाडौं

शेयर बजारले उच्चतम् बिन्दु कायम गरेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक, कारोबार रकम तथा कुल बजार पुँजीकरण गरी शेयर बजारले उच्चतम् बिन्दुमा पुगेको हो ।

साताको पहिलो दिन आइतबार भएको कारोबारमा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु २९ सयभन्दा माथि पुगेको छ । त्यस्तै कारोबार रकम सवा १७ अर्ब रुपियाँको कारोबार र नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल पुँजीकरण साढे ४० खर्ब रुपियाँ पुगेको छ । आइतबार नेप्से ५० दशमलव १३ अंकले बढेर २९०६ दशमलव ८९ बिन्दुमा पुगेको छ । कुल २१७ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपियाँमा कारोबार भएको छ । आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण ४० खर्ब ३३ अर्ब ७९ करोड ४४ लाख ५२ हजार रुपियाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपी भन्दा झण्डै डेढ खर्ब रुपियाँ बढी हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७ दशमलव ८८ ले सुधार भई ५२० दशमलव ९९ बिन्दुमा पुगेको छ । यो परिसूचक पनि हालसम्मकै उच्च हो । आइतबार कारोबार भएका १३ समूहमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी समूह घटेका छन् । जसमध्ये बैंकिङ समूह ६९ दशमलव ८५, विकास बैंक समूह ९६ दशमलव ३१, वित्त समूह २७ दशमलव ७२, अन्य समूह ६६ दशमलव ९४, लघुवित्त समूह ४ दशमलव २८, सामूहिक लगानी कोष शून्य दशमलव २४ र लगानी समूह ४ दशमलव शून्य ३ बिन्दुले बढेको छ । यस्तै, व्यापार समूह ४३ दशमलव २८, होटल तथा पर्यटन समूह १८ दशमलव ९८, जलविद्युत् समूह ४६ दशमलव ८३, निर्जीवन बीमा समूह ८३ दशमलव ३१, उत्पादन समूह ६७ दशमलव २८, जीवन बीमा समूह १२५ दशमलव ४ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी पहिलो स्थानमा रहेको छ । सो कम्पनीको मात्रै १ अर्ब २१ करोड १४ लाख रुपियाँभन्दा माथिको कारोबार भएको छ । यस्तै, नेपाल पूर्वाधार बैंकको ८३ करोड ९० लाख, लुम्बिनी विकास बैंकको ५४ करोड ७५ लाख, कुमारी बैंकको ४६ करोड ५७ लाख, मेगा बैंकको ४४ करोड ७७ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिनको कारोबारमा महिला लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै गुडविल फाइनान्सको ९ दशमलव ८९, लुम्बिनी विकास बैंकको ९ दशमलव ८८, रिडी हाइड्रोपावरको ९ दशमलव ८७, नेपाल बंगलादेश बैंकका लगानीकर्ताले ९ दशमलव शून्य ७ प्रतिशतले शेयर मूल्य बढेको छ । तर, राधी विद्युत् कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र यूनियन हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्