नेपाल बङ्गलादेश बैंकको २७ औं वार्षिकोत्सव सम्पन्न, सरकारलाई ६६ लाख बराबरको रेम्डिसिभिर हस्तान्तरण



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल बङ्गलादेश बैंकले आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा सरकारलाई ६६ लाख रुपैयाँ बराबरको २५०० भायल रेम्डिसिभिर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारलाई रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको हो । नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो ।

बैंकमा बंगलादेशको आईएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैंकिङ सुविधा दिँदै आएको छ ।यस्तै बैंकले सुदुरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको पनि जनाएको छ ।

उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद गर्ने जनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुविधा दिँदै ग्राहकको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्