मध्यपहाडी सडकको कुश्मा खण्ड चार लेनमा बिस्तार



नेपाल समाचारपत्र, पर्वत । 

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा बजारमा चार लेनमा सडक विस्तार भइरहेको छ । पर्वत जिल्लामा पर्ने २४ किलोमिटर खण्डमध्ये कुश्माबजार र पातीचौरमा चार लेनको सडक बनाउन लागिएको हो ।

कुश्मा बजारको खरेयादेखि डम्डारे खोलासम्मको खण्डमा चार लेनमा सडक स्तरोन्नतिको अघि बढाइएको छ । उक्त सडकमा अहिले नाली निर्माण, डिभाइडर निर्माण सकेर कालोपत्रका लागि बेस बिच्छ्याउन थालिएको छ । अबको एक महीनामा सबै काम सक्ने लक्ष्य राखिएको छ । लोकमार्ग आयोजना कार्यालयका अनुसार कुश्मा बजारभित्र चार लेन विस्तारका लागि उपलब्ध भएसम्मको जनशक्ति परिचालन गरिएको छ । पर्वतका सबै खण्डको विस्तार असारसम्ममा सक्ने लक्ष्य रहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाले निर्माण रोकिएको छैन ।

जिल्लाभर अत्यावश्यक सेवाबाहेकका सेवा र राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्ने जिल्ला प्रशासन कार्यालयको निर्णय छ । निषेज्ञाधाका कारण सडकमा सवारी साधान नगुड्दा काम गर्न सहज भएकाले तीव्र रूपमा निर्माण अघि बढेको मरासिनीले जानकारी दिनुभयो ।कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार भए पनि अन्य स्थानमा भने दुई लेनको बनाइनेछ । मोदी गाउँपालिकाको पातीखोलादेखि चुवाको परादीसम्म कालोपत्रको काम सकिएको छ । बजार क्षेत्रभन्दा बाहिरको मालढुंगा–छमर्के खण्डमा ५ किलोमिटर कालोपत्र गरिसकिएको छ । चुवाको भीर, कुश्माको बान्द्रेबिँडी र मोदीको केही भागमा भीरको पहरो फुटाएर सडक चौडा बनाइएको छ ।

२०७५ वैशाखदेखि शुरु भएको पर्वत खण्ड विस्तारको काम गएको गत भदौमै सकिनुपर्ने थियो । तर, कोभिड नियन्त्रणका लागि लागू गरिएको लकडाउनले काम रोकिएपछि आयोजना कार्यालयले ९ महीना समय थप गरेको छ । मध्यपहाडी लोकमार्गको कास्की खण्डमा नयाँ पुलदेखि घट्टे खोलासम्मको काम सकिएको छ । हेम्जादेखि सिम्पानीसम्मको खण्ड सकिए कास्की खण्डको काम पूरा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्