जीवनमा कहिल्यै निराश नहुनुहोस्



प्रेम रावत

हिजोआजको दौडधुुपको जीवनमा आफ्नो समस्याका कारण मानिसले उसको जीवन कति मूल्यवान् छ भन्ने कुरालाई बिर्सेको छ । यसको अर्थ के हो भने, त्यो मानिसले आफूले आफूलाई चिन्दैन । समस्या त आउँदै जाँदै गरिरहन्छन् तर तपाईँ आउँदै जाँदै गर्नुहुन्न । तपाईँलाई प्राप्त भएको यो जीवन वास्तवमा अमूल्य छ । तपाईँको समस्याभन्दा यो जीवनको महत्व बढी छ । तपाईँले अहिले सामना गरिरहनुभएको समस्याले यसअघि कोही अरूलाई पनि सताइसकेको छ । त्यसभन्दा पहिला कोही अरूलाई नै सताएको थियो, अनि तपाईँभन्दा पछि कोही अरूलाई सताउनेछ । यसर्थ यस कुरामा समस्या नयाँ होइन, तपाईँ नयाँ हुनुहुन्छ । समस्या पुरानो हो ।

समस्या कहिल्यै मर्दैन तर तपाईँले जानुपर्छ । तपाईँ आफूले आफूलाई यी समस्यामा विलीन हुन नदिनुहोस् । यी समस्याभन्दा तपाईँको महत्व धेरै छ । समस्या तपाईँकहाँ आयो तर तपाईँ समस्याको निकट नजानुहोस् ।तपाईँ ती समस्याबाट टाढा जान पनि सक्नुहुन्छ, किनकि मानिस हुनुको नाताले तपाईँमा त्यो सामथ्र्य छ । त्यो सामथ्र्यको उपयोग गर्नुहोस् । त्यो शक्ति ज्ञानको शक्ति हो, त्यो प्रकाशको शक्ति हो । त्यो शक्ति हो– आफूले आफूलाई चिनेपछिको अनि आफूले आफूलाई पहिचान गरेपछिको । जसले आफूले आफूलाई चिन्छ उसले यो समस्या केही पनि होइन भन्ने कुरालाई बुझ्छ । यसको अर्थ समस्या हटेर जान्छ भन्ने पनि होइन । तथापि, त्यो सामथ्र्यलाई उपयोग गरेर मानिस समस्याबाट बाहिर निस्कन सक्छ । यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।तपाईँ आफ्नो जीवनको महत्वलाई बुझ्नुहोस् । तपाईँ को हुनुहुन्छ ! तपाईँभित्र यो जुन श्वास आइरहेको छ अनि गइरहेको छ, यसको मूल्य के छ ! संसारको सबै धनसम्पत्तिबाट पनि एउटा श्वासलाई किन्न सकिँदैन । तपाईँसँग धेरै पैसा नहुन पनि सक्छ तर तपाईँसँग एउटा यस्तो चीज छ जसलाई संसारको सबै धनसम्पत्ति भएर पनि किन्न सकिँदैन ।

यो वास्तवमा अमूल्य छ ! तपाईँसँग स्वयंलाई चिन्ने अनि बुझ्ने शक्ति छ ! यो तपाईँकै शक्ति हो अनि तपाईँ बलशाली हुनुहुन्छ । तथापि, तपाईँ आफ्नो समस्याको संसारमा यसरी हराउनुभएको छ, फलस्वरूप तपाईँले आफ्नो सामथ्र्यलाई पहिचान गर्न सक्नुभएको छैन ।एउटा कथा छ । एकपटक एकजना राजाले आफ्नो मालीलाई बोलाएर भनेछन्, ‘पहाडमाथिको मेरो महलमा एउटा एकदमै राम्रो बगैँचा निर्माण गरिदेऊ ।’राजाको आदेशलाई मानेर माली बगैँचाको निर्माणतर्पm जुटे । पहाडको फेदमा एउटा नदी थियो । ती माली दुईवटा ठूला–ठूला गाग्रालाई काँधमा अघिपछि पारेर बोक्दै हरेक दिन तल नदीमा पानी भर्न जान्थे । अनि, बल्लतल्ल महलसम्म पुगेर आफूले तयार पारेको बगैँचामा पानी लगाउने गर्थे ।निकै समय यही क्रमअनुसार बित्दै गयो । एक दिन दुईवटा गाग्रामध्ये पछाडितिरको गाग्रो एउटा चीजसँग ठोक्किएर त्यसमा प्वाल पर्न पुग्यो । सधैँ ती माली पहाडबाट तल झर्थे । दुवै गाग्रामा पानी भर्दथे । तर, उनी महलसम्म आइपुग्दा अगाडिको गाग्रोमा त पानी भरी नै हुन्थ्यो तर पछाडिको गाग्रो भने चुहिएर रित्तो भइसक्थ्यो ।एकदिन अगाडिको गाग्रोले पछाडिको गाग्रोलाई भन्यो, ‘तिमी त अब कुनै कामका लागि लायक नै छैनौ । तिमी त प्वाल परिसक्यौ । मेरा कारणले राजाको बगैँचा यति धेरै हराभरा भएको छ किनभने मैले मात्रै पानीलाई यहाँसम्म ल्याइपु-याउँछु । तिमीमा त यहाँसम्म आइपुग्दाओर्दा एक थोपा पनि पानी बाँकी रहँदैन । अब तिमी बेकम्मा भइसक्यौ ।’

पछाडिको गाग्रोले आपूm कुनै कामका लागि लायक नरहेको भन्ने लाञ्छना सुनेपछि उसलाई अत्यन्तै दुःख लाग्यो । अर्काे दिन माली आए । दुवै गाग्रातिर नजर लगाए । उनलाई पछाडितिरको गाग्रो निकै उदास भएको महसुस भयो । त्यसपछि मालीले सोधे– ‘तिमीलाई के भयो, किन उदास छौ ?’अनि, त्यो गाग्रोले भन्यो, ‘अगाडिको गाग्रोले त म अब कुनै कामको लायक नै छैन रे भन्छन् ! तपाईँ बिहान–बिहानै पानी भर्नुभएर बगैँचामा आइपुग्नुहुँदा अगाडिको गाग्रोमा त पानी भरी नै हुन्छ तर ममा त प्वाल परेको छ । एक थोपा पनि पानी बाँकी रहँदैन । अगाडिको गाग्रोको भनाइ के छ भने उनकै कारणले नै यो बगैँचा हराभरा भएको छ । मेरा कारणले होइन ।’मालीले हाँस्दै भने, ‘तिमी यो रहस्य बुझ्दैनौ । तिमीमा प्वाल भएको थाहा हुँदाहुँदै पनि मैले तिमीलाई फ्याँकिन । मैले तिमीलाई सधैँ तल लगेर तिमीमा पनि पानी भर्छु र माथिसम्म ल्याउँछु । अँ, यो कुरा त ठिक्कै हो जति पनि बगैँचा हराभरा भएको छ, बगैँचाको हरियाली छ, त्यो त अगाडिको गाग्रोको कारणले नै भएको हो । तर, के तिमीले देखेका छैनौ ? त्यो नदीबाट माथि बगैँचासम्म जाने बाटोको किनारमा जति पनि थरीथरीका पूmलहरू फुलिरहेका छन् नि, ती तिम्रै कारणले त फुलेका हुन् । तिनीहरू सबैले तिम्रो कारणले नै पानी पाउँछन् । अर्कोको कारणले त केवल एउटा मात्रै बगैँचा हराभरा भएको छ तर तिम्रो कारणले त बाटाभरि– त्यो नदीदेखि लिएर बगैँचासम्मको क्षेत्र आज हराभरा छ । किनभने, तिनीहरूले तिम्रै कारणले पानी पाएका छन् ।’

यो कुरा सुनेपछि त्यो गाग्रो असाध्यै खुशी भयो । ऊ अझै पनि काम लाग्ने चीज भएको कुरा उसलाई थाहा भयो । हो, उसले राजाको बगैँचामा त सिँचाइ गर्न सकेन तर उसले त्यस बाटोमा यस्तो राम्रो बगैँचा बनायो– जुन बाटोबाट सारा मानिस ओहोरदोहोर गर्ने गर्छन् । ती सबैले पूmलको सौन्दर्यको आनन्द लिन पाउँछन् ।यसर्थ, चाहे जस्तोसुकै परिस्थिति होओस्, कहिल्यै पनि आफूलाई कमजोर ठान्नु आवश्यक छैन । जीवनमा हरेकको आफ्नै महत्व हुन्छ । यो कुरालाई बुझ्नु आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा त हामी जीवित रहुन्जेलसम्म जीवित भएका कारणले नै हामीमा अनन्त सम्भावनाहरू हुन्छन् । जीवनमा चाहे जतिसुकै कठिनाइहरू आऊन् तर आफ्नो दक्षतालाई चिनेर अघि बढ्ने मानिसलाई जीवनको हरेक क्षेत्रमा अवश्य पनि सफलता हात लाग्दछ । यस्ता मानिसहरू कठिन समयमा पनि निराश हुँदैनन् ।मानिस कुनै पनि आशा बाँकी नरहेको अवस्थामा पुग्दा उसका लागि सबै आशा निराशामा परिणत हुन्छन् । उसका लागि पूरै जीवन निराशामा बदलिन्छ । तथापि, यदि आँखा खोलेर हेर्ने हो भने भित्रबाट यो प्रेरणा प्राप्त हुन्छ कि यस्तो होइन ! यो जीवन छ अनि जुन चीजलाई म निराशा भनिरहेको छु, यसभित्र कति आशा भरिएको छ । यदि आफ्नो जीवनमा भएको ‘निराशा’ शब्दको ‘नि’ लाई हटाउने हो भने तपाईँको जीवनमा केवल आशा नै आशा हुन्छ ! यसर्थ आफ्नो जीवनमा सधैँ आशालाई अपनाउनुहोस् अनि कहिल्यै निराश नहुनुुहोस् ।

धेरै मानिसहरू कोरोना भाइरसका कारणले विचलित भएका छन् । उनीहरू के गर्ने, के नगर्ने भनेर भ्रमित भएका छन् । मेरो विचारमा यो समयमा यदि हामीले केही गर्न सक्छौँ भने ती दुईवटा कुरा छन्: एउटा त ‘कसैलाई यो रोग नसार्नुहोस्’ र अर्को ‘कसैबाट यो रोग आफूमा सर्न नदिनुहोस्’ । यति मात्र ! नलिनुहोस् अनि नदिनुहोस् । यो कसरी सम्भव हुन्छ । यो तब मात्र सम्भव हुन्छ जब तपाईँ अरू मानिस भएका स्थानसम्म जानुहुन्न र अरू मानिसहरू तपाईँका सामु आउँदैनन् । आइसोलेसनमा (छुट्टै) बस्नुहुन्छ, हात धुनुहुन्छ अनि स्वच्छ रहनुहुन्छ । आत्तिनुपर्ने कुनै कारण छैन किनकि आत्तिएर केही फाइदा हुँदैन । यो आत्तिने समय होइन । यो धैर्य गर्नुपर्ने समय हो । जुन तपाईँभित्रको क्षमता छ त्यसलाई हिम्मत भनिन्छ । त्यसलाई उपयोग गर्नु आवश्यक छ । आत्तिएर केही कुरा हासिल हुँदैन । केवल तपाईँले सावधानी अपनाउनुपर्छ । परिणामतः यो सङ्क्रमण तपाईँसम्म नआओस् ।हामीभित्र त्यो क्षमता छ भन्ने कुरालाई ध्यान दिनु आवश्यक छ । जसका कारणले तपाईँ यो परिस्थितिमा, यो समयलाई राम्रोसँग आनन्दका साथ बिताउन सक्नुहुन्छ । परिस्थिति राम्रो छैन । धेरै कुरा भइरहेका छन् तर पनि हृदयलाई त आनन्द नै चाहिन्छ । त्यो आनन्द बाहिरबाट आउँदैन । त्यो त तपाईँभित्रै छ । त्यसका लागि हामीले आआफूले आफूलाई चिन्नु आवश्यक छ । आपूmले आपूmलाई बुझ्नु जरुरी छ ।

यो परिस्थितिका कारण आफूले आफूलाई ‘यो मेरो कस्तो दुर्भाग्य’ भन्दै पछुताउनु राम्रो कुरा होइन । यो श्वास जुन तपाईँभित्र आइरहेको छ अनि गइरहेको छ– यो सृष्टिकर्ताको आशीर्वाद हो । जुन समयमा तपाईँ जन्मनुभयो त्यतिखेर सबैभन्दा ठूलो कुरा तपाईँले श्वास लिनुभएको छ कि छैन भन्ने नै थियो । डराउँदैमा केही हुनेछैन । धैर्य गर्नुहोस् । यो समय पनि जानेछ । यो धैर्य गर्ने एउटा अवसर हो । सिक्ने अवसर हो । यो धैर्य भएर साहसका साथ रहने समय हो । त्यसकारण जीवित छँदै आनन्दसँग आफ्नो जीवनलाई बिताउनुहोस् । आफ्नो परिवारसँग मिलीजुली रहेर यो समयलाई बिताउनुहोस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्