नेप्से पुरानै लयमा



नेपाल समाचारपत्र, काठमाडौं

लगातार दुई दिनसम्म दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साताको चौथो दिन बुधबार उच्च अंकले बढेको छ । यस दिन नेप्सेमा ५५ दशमलव ७६ अंकले वृद्धि भई परिसूचक २८२७ दशमलव १२ बिन्दुमा पुगेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३९ खर्ब २३ अर्ब ८ करोड ३५ लाख ८८ हजार रुपियाँ पुगेको छ ।

कुल २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार कित्ता शेयर ११ अर्ब ३५ करोड १८ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन १३ वटा समूहमध्ये सामूहिक लगानी कोषबाहेक अन्य सबै समूहको परिसूचकमा वृद्धि भएको छ । सामूहिक लगानी कोष शून्य दशमलव शून्य २ अंकले घट्दा बैंकिङ ८ दशमलव ८, व्यापार १५ दशमलव १२, होटल तथा पर्यटन ९२दशमलव ३५, विकास बैंक २२५ दशमलव ६६, जलविद्युत् ८१ दशमलव ८२, वित्त १३७ दशमलव ८३, निर्जीवन बीमा ४७९ दशमलव ११, उत्पादन १३६ दशमलव ३४, अन्य ११० दशमलव ७७, लघुवित्त ६९ दशमलव ६३, जीवन बीमा ३७४ दशमलव १७ र लगानी समूह शून्य दशमलव ९२ अंकले वृद्धि भएका छन् ।

कारोबारका आधारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनी पहिलो स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ३७ करोड ८७ लाख ९० हजार रुपियाँको शेयर किनबेच भएको छ । यस्तै निर्धन उत्थान लघुवित्त ३३ करोड ४५ लाख ८४ हजार, सानिमा माई हाइड्रोपावरको ३२ करोड १९ लाख ६३ हजार, लुम्बिनी विकास बैंकको २९ करोड ७९ लाख ३९ हजार र ज्योति विकास बैंकको २३ करोड एक लाख २२ हजार रुपियाँको शेयर किनबेच भएको छ । बुधबार राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाइड्रो पावरको शेयर १० प्रतिशलते वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मन्जुश्री फाइनान्स ९ दशमलव ९७, पोखरा फाइनान्स ९ दशमलव ९७ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतले कमाए । त्यस्तै राधी विद्युत् कम्पनी, एनबीएल ऋणपत्र, विशाल बजार कम्पनी, सिटिजन म्युचुअल फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्