बन्दाबन्दीबाट ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित



नेपाल समाचारपत्र, काठमाडौं

बन्दाबन्दीका कारण करिब ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले सातै प्रदेशका पदाधिकारीसँग जारी बन्दाबन्दी र निशेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा गरेको टेलिफोन सम्वादपछि सो निश्कर्ष निकालेको हो ।

महासंघका अनुसार प्रदेशगतरूपमा प्रदेश नम्बर १ मा ८२ दशमलव ७ प्रतिशत, गण्डकी प्रदेशमा ७५ प्रतिशत, बागमती प्रदेशमा ६९ प्रतिशत, प्रदेश नम्वर २ मा ६९ प्रतिशत, लुम्बिनी प्रदेश ६४ दशमलव ५ प्रतिशत, सुदूरपश्चिममा ५७ दशमलव ७ प्रतिशत र कर्णाली प्रदेशमा ४५ दशमलव ५ प्रतिशत उद्योग व्यवसायमा असर परेको छ ।खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषिबाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प छन् ।

दोस्रो लहरको कोभिड संक्रमणको विस्तार भएसँगै महासंघले निजी क्षेत्र, सरकार र सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउंदै आफ्नो सिंगो सञ्जाललाई आ–आफ्नो क्षेत्र र तहबाट सहयोगमा उत्रन अपिल गरेबमोजिम आफ्नो सञ्जाल परिचालित भएको महासंघको भनाइ छ । महासंघले यस बीचमा करिब १ सय वटा जिल्ला नगर उद्योग वाणिज्य संघ कुनै न कुनै रूपमा मानवीय सहायता जोडिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्