काठमाडौंका उद्योग हेटौंडा आउँदै



नेपाल समाचारपत्र, हेटौंडा ।

संघीय राजधानीको प्रदुषण कम गराउन काठमाडौंका उद्योगलाई हेटौंडामा स्थानान्तरण गर्ने घोषणा बजेटले गरेको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा काठमाडौंका उद्योगलाई हेटौंडाको मयुरधाप स्थानान्तरण गरिने उल्लेख गर्दै स्थानान्तरण हुन चाहने उद्योगलाई १० वर्षका लागि निःशुल्क जग्गा दिइने भनिएको छ ।

मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम आगामी २ वर्षभित्र पूरा गर्ने पनि उल्लेख छ । २०७२ चैत १ गतेको मन्त्रिपरिषद्ले चुरे खहरेको उकास जमिनमा औद्योगक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।करिब २ सय रोपनी क्षेत्रमा फैलने औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भएर काम अघि बढ्नै लाग्दा राष्ट्रिय निकुञ्जसँगको विवादका कारण करिब साढे २ वर्षयता काम हुन सकेको थिएन । केही समयअघि मात्रै निकुञ्जले जग्गा भोगाधिकार दिने सहमति भएपछि अब काम अघि बढ्ने बताइएको छ ।

औद्योगिक क्षेत्र तयार गर्नका लागि करिब साढे सात अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । डीपीआर तयारीपछि २० बिगाहा जमिन मुद्रण विभागले सेक्युरिटी प्रेस स्थापनाको लागि सम्झौता गरिसकेको छ । वर्षौंदेखि चुरेजंगल हुँदै हेटौंडा–१३ र १४ को मयुरधापमा बग्ने खहरेले धार परिवर्तन गरेसँगै बुट्यानले ढाकेको तर ठूला रुख नभएको समथर जग्गामा हेटौंडाको दोस्रो औद्योगिक क्षेत्र स्थापना थालिएको हो ।उद्योग स्थापनाका लागि आशयपत्र आह्वान गरिने, पत्रका आधारमा ६ महिनाभित्र उद्योगीलाई चाहिने न्यूनतम् पूर्वाधारहरु ९अस्थायी सडक, बत्ती र पानी० व्यवस्थापन गरी औद्योगिक क्षेत्र र उद्योगीले सँगसँगै आआफ्ना पूर्वाधार निर्माण कार्य थालनी गरी २ वर्षभित्र सम्पन्न गरेर उद्योग सञ्चालनमा ल्याउने बताइएको छ । ५ वर्षभित्र औद्योगिक क्षेत्र व्यवस्थापनले सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ ।

औद्योगिक क्षेत्रका उद्योगलाई आवश्यक कच्चा पदार्थ मिल, मेसिनरी पैठारी गर्दा भन्सारमा लाग्ने विलम्ब शुल्क नलाग्ने कार्यका लागि पहल गरिनेछ । औद्योगिक क्षेत्रका जग्गामा उद्योग गर्दा बैंकबाट ऋण लिन उद्योगीलाई कठिन परिरहेको अवस्थालाई मध्यनजर गर्दै कर्जा प्रवाह सरलीकरण गरिने बताइएको छ ।सबभन्ैदा पहिले जग्गा नापजाँच र लालपुर्जा पाएको उक्त औद्योगिक क्षेत्रको काममा ढिलाइ भइरहेको आरोप छ । हेटौंडामा २०२० सालमा स्थापना भएको अर्को औद्योगिक क्षेत्र पनि छ । अमेरिकी सरकारको सहयोगमा त्यसबेला हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएको थियो । एकसय ३५ हेक्टर क्षेत्रफलमा सरकारले औद्योगिक क्षेत्र बनाउन लागेको हो । औद्योगिक क्षेत्रका लागि ऐलानी जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले पाइसकेको छ । उक्त औद्योगिक क्षेत्र हेटौंडा बजारबाट करिब ७ किलोमिटर टाढा पर्दछ भने हेटौंडा–पथलैया सडकको पशुपतिनगरबाट करिब ३ किमि पश्चिममा छ । उक्त क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने भएपछि मयुरधाप, बँदेलधाप, कालोपानी, पदमपोखरीको रातोमाटे डाँडाका स्थानीय खुशी छन् । औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले दुई वर्षदेखि बजेट विनियोजन गरिरहेको छ । तर, पर्याप्त काम हुन नसक्दा बजेट फ्रिज हुने गरेको छ । चालू आवमा पनि संघीय सरकारले करिब ३१ करोड रुपियाँ मयुरधाप औद्योगिक क्षेत्रका लागि छुट्याएको छ ।

बिस्तृत परियोजना प्रतिवेदनसम्बन्धी कार्यका रुपमा उद्योग स्थापनाका लागि आशयपत्र माग गर्दा २ सय ५० वटा आशयपत्र परेका थिए । मुद्रण विभागलाई सेक्युरिटी प्रेस स्थापना गर्न २ सय ५० रोपनी जग्गा उपलब्ध गराइएको छ । उक्त क्षेत्रमा हेलिप्याड, सशस्त्र प्रहरीको गण, पेट्रोल पप्प, बिजुली स्टेसन, हेभी गाडी पार्किङ, वाटरट्यांक, स्टाफ क्वार्टर, ल्याबलगायत संरचना निर्माण गरिने जनाइएको छ ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरका रुपमा विकास गरिने बताउँदै उद्योग सञ्चालन गरी अर्थतन्त्र विकासमा लाग्न आग्रह गर्नुभएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अध्यक्ष नन्दकिशोर बस्नेतले संरचना निर्माण गरिने जानकारी दिनुभयो । औद्योगिक क्षेत्रमा विभिन्न उद्योग स्थापना गरी सञ्चालन हुँदा प्रत्यक्ष परोक्ष गरी करिब १० हजार जनाले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्