शेयर बजारको पुँजी जीडीपीभन्दा माथि



नेपाल समाचारपत्र, काठमाडौं

संसद् विघटन भई मध्यावधि निर्वाचनको घोषणा भएसँगै राजनीतिक गर्मागर्मी शुरू भएपछि पुँजीबजारमा त्यसको असर कस्तो पर्ला भन्ने जिज्ञाशा रहेका बेला साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकले ऐतिहासिक बिन्दु कायम गरेको छ । यस दिन नेप्से ३२ दशमलव ८१ अंक बढेर २८२० बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

त्यस्तै यस दिन हालसम्मकै उच्च रकम बराबरको शेयर कारोबार पनि भएको छ । कुल २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार कित्ता शेयर १ लाख २६ हजार पटकमा ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार रुपियाँको कारोबार भएको छ । आइतबारको कारोबारपछि बजार पुँजीकरण देशको कुल गार्हस्थ उत्पादन ९जीडीपी० भन्दा माथि पुगेको छ । आइतबार नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ३९ खर्ब १३ अर्ब १५ करोड ८ लाख ७३ हजार रुपियाँ पुगेको छ । नेप्से उच्च बिन्दुमा पुगेको दिन १६ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा शेयर कारोबार भएको छ । जसमध्ये महालक्ष्मी विकास बैंकको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ९ दशमलव ९३ प्रशित, युनाइटेड इदि मर्दी हाइड्रोपावरको ९ दशमलव ९३ प्रतिशत, कालिका पावरको ९ दशमलव ८६ प्रतिशत, वेस्ट फाइनान्सको ९ दशमलव ८५ प्रतिशत, गुडविल फाइनान्सको ९ दशमलव ८५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९ दशमलव ८४ प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत, सिनर्जी पावरको ९ दशमलव ८ प्रतिशत, श्रीइन्भेष्टमेन्ट एन्ड फाइनान्सको ९ दशमलव ८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यसैगरी आईसीएफसी फाइनान्सको ९ दशमलव ७ प्रतिशत, सेन्ट्रल फाइनान्सको ९ दशमलव ७ प्रतिशत, पोखरा फाइनान्सको ९ दशमलव ७ प्रतिशत र समृद्धि फाइनान्सको पनि मूल्य ९ दशमलव ६ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै रुरु जलविद्युत् परियोजना, समता घरेलु लघुवित्त, गुराँस लघुवित्त, आरम्भ चौतारी लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।यस दिन पनि ४१ करोड ८६ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएसँगै सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स दोस्रो र ज्योति विकास बैंक तेस्रो स्थानमा परेका छन् । यस दिन नेसनल लाइफ इन्स्योरेन्सको ३७ करोड १४ लाख, ज्योति विकास बैंकको २३ करोड ७७ लाख, मेगा बैंकको २२ करोड ४७ लाख, गरिमा विकास बैंकको २२ करोड २४ लाख १८ हजार २४६, अरुण भ्याली हाइड्रोपावर २० करोड ७२ लाख रुपियाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।यस दिन १३ समूहमध्ये १० समूहको परिसूचकमा बढेको छ भने बाँकी तीनवटाको घटेको छ । यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ७ दशमलव ५४ प्रतिशत बढेको छ । यसैबीच जलविद्युत् लगानी तथा विकास कम्पनी एचआईडीसीएलले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १ बराबर १ अनुपातमा ११ अर्ब रुपियाँबराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्