रेकर्ड ब्रेक भएको साता शेयर लगानीकर्ताले डेढ खर्ब कमाए



नेपाल समाचारपत्र, काठमाडौं

शेयर बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचकले ऐतिहासिक बिन्दु कायम गरेका छन् । यस साता नेप्से परिसूचक २७९३ दशमलव ९० बिन्दुसम्म पुगेको थियो । यो हालसम्मकै उच्च बन्द विन्दु हो । त्यस्तै साता एकै दिन नेप्सेमा करिब १२ अर्ब रुपियाँको शेयर कारोबार भइ ले कारोबार रकममा पनि रेकर्ड बनाएको छ ।

अघिल्लो साता २६८४ दशमलव शून्य १ बिन्दुमा बन्द भएको नेप्से, परिसूचक यस साता ३ दशमलव ८४ प्रतिशत अर्थात १०३ दशमलव १७ अंक बढेर २७८७ दशमलव १८ बिन्दुमा पुगेर बन्द भएको छ।त्यस्तै यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ४ प्रतिशत बढेको छ । गत साता ३७ खर्ब २४ अर्ब रुपियाँ रहेको कुल बजार पुँजीकरण १ खर्ब ४३ अर्ब रुपियाँले बढेर ३८ खर्ब ६७ अर्ब रुपियाँ पुगेको छ । यो झण्डै देशको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० बराबर हो । साताभर नेप्सेमा ५ लाख ६९ हजार ७१६ पटकको कारोबारमा ५२ अर्ब ६० करोड रुपियाँको १० करोड ८७ लाख कित्ता शेयर किनबेच भएको छ ।

यो अघिल्लो साताको तुलनामा ८३ दशमलव ८१ प्रतिशत बढी हो।यस साता १३ समूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह बाहेक बाँकी सबै समूहको बढेको छन् । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १४ दशमलव ८८ प्रतिशत बढेको छ । अंकका आधारमा भने जीवन बीमा समूहको परिसूचक सर्वाधिक बढेको छ। सो समूहको परिसूचक ७४७ दशमलव ४४ अंक बढेको छ। उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ७३ प्रतिशत अर्थात १०३ दशमलव ४० अंक घटेको छ। यस साता बजार पुँजीकरणको आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको मात्रै बजार पुँजीकरण २ खर्ब रुपियाँभन्दा बढी पुगेको छ।

प्रतिक्रिया दिनुहोस्