विदेशी लगानीका सिमेन्ट उद्योगको उत्पादन लागत न्यून



नेपाल समाचारपत्र, काठमाडौं

सरकारी र स्वदेशी लगानीबाट सञ्चालित सिमेन्ट उद्योगहरूको तुलनामा विदेशी लगानीमा सञ्चालित उद्योगको उत्पादन लागत एवम् क्षमता बढी रहेको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी: आर्थिक सामाजिक प्रभावको अध्ययन’ मा यस्तो नतिजा देखिएको हो ।

नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगमध्ये तीन वटामा प्रत्यक्ष विदेशी लगानी, दुई सरकारी स्वामित्व र बा“की ५० निजी स्वामित्वका रहेका छन् । लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्यता रहेको छ । प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी माग र आपूर्तिलगायत ती उद्योगहरुको सामाजिक तथा आर्थिक प्रभावका विषयमा अध्ययन गरिएको राष्ट्र बैंकले जनाएको छ । अध्ययनका क्रममा विदेशी लगानी रहेका तीन, सरकारी स्वामित्वका दुई र निजी स्वामित्व रहेका दुई गरी ७ उद्योगलाई समेटिएको थियो । सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, दुई जना कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दालाई उत्तरदाताको रुपमा चयन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको अध्ययनअनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ । त्यस्तै हाल आन्तरिक रुपमा यी उद्योगबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ । प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरूको औसत क्षमता उपयोग ४५ दशमलव ८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५० दशमलव १२ प्रतिशत र ६३ दशमलव ७८ प्रतिशत रहेको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ ।

सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ । मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ । नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुनेदेखिन्छ ।सामाजिक–आर्थिक पाटोलाई विश्लेषण गर्दा सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएका छन् । उद्योग वरिपरि रहेका जमीनको मूल्य वृद्धिका कारण वेल्थ इफेक्टलगायतका सकारात्मक प्रभाव परेको भएता पनि वातावरणीय प्रदुषणसम्बन्धी नकारात्मक असर पनि परेको छ । अतः सिमेन्ट उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नु आवश्यक रहेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्