उत्पादन बढाउने बजेट ल्याउन जोड



नेपाल समाचारपत्र, काठमाडौं

प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले साना किसानमैत्री बजेटको तयारी भइरहेको जानकारी दिनुभएको छ । प्रदेश १ धेरै उत्पादनमा आत्मनिर्भर रहेको र बाँकी रहेका उत्पादनमा पनि आत्मनिर्भर हुने अवस्थामा रहेको उहाँको दाबी छ । एसोसिएसन अफ नेपाली एग्रिकल्चलर जर्नालिस्टले बिहीबार आयोजना गरेको ‘कोरोना महामारी र प्रदेश १ कृषि बजेट’ विषयक भर्चुअल बहसमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले संघ, प्रदेश र स्थानीय तहबीच क्षेत्र विभाजन गरिएको जानकारी गराउँदै पकेट स्थानीयलाई, ब्लक समूह प्रदेशलाई र जोन सुपर जोन केन्द्रीय सरकारले हेर्ने गरी क्षेत्र निर्धारण भएको छ । तर, त्यो अनुसार काम नभएको बताउनुभयो । स्थानीय तथा केन्द्रीय सरकारसँग छलफल गरेर काम गरे पनि सोचे जस्तो समन्वय नभएको उहाँले स्वीकार गर्नुभयो । प्रदेश सरकारले कृषिको यान्त्रिककरण, उत्पदान, अनुदान जस्ता क्षेत्रमा काम गरिरहेको छ । तर, व्यक्तिको घरमा नपुगे पनि सहकारीस्तरमा पुगेको उहाँले बताउनुभयो ।
भूमि बैंकको स्थापना भयो भने कृषिमा केही गर्न चाहनेलाई सहयोग पुग्ने बताउँदै मन्त्री मगरले यस्तो बेलामा सहकारीमार्फत जमिन भेला गरेर चकलाबन्दी प्रणालीमा खेती गर्ने सोच बनिरहेको बताउनुभयो । प्रदेश १ कतिपय उत्पादनमा आत्मनिर्भर रहेको बताउँदै उहाँले चिया, अदुवा, छुर्पीलगायतमा आत्मनिर्भर रहेको कतिपय क्षेत्रमा आत्मनिर्भरको नजिक पुगेको बताउनुभयो । धान तथा तरकारी उत्पादनले पनि पुगिरहेको छ । तर, आयातमा कमी आएको छैन, यसमा के गर्न सकिन्छ त्यसको बारेमा छलफललाई अगाडि बढाएको उहाँले धारणा राख्नुभयो ।

दूध उत्पादन वृद्धि भएर त्यो बिक्रि नहुँदा त्यसलाई धुलो बनाइरहेको हुनाले अब दूधमा पनि विविधिकरण गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । बीउ व्यवस्थापन पनि महत्वपूर्ण काम रहेको र त्यसका लागि सरकारले बजेटको व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो । माछा, दूध, मासु उत्पादनदेखि लिएर विदेशबाट फर्केका युवालाई कृषिमा कसरी लगाउने कार्यक्रम पनि बजेटमा राखेको बताउनुभयो । कार्यक्रममा प्रदेश १ का नीति तथा योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले कोरोनालाई विपत्तिको रुपमा मात्रै नलिएर एउटा अवसरको रुपमा लिएर उत्पादनमा जोड दिनुपर्ने बताउँदै उहाँले कोरोनालाई केन्द्रविन्दुमा राखेर बजेटलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।नेपालमा उत्पादनको कमी छैन तर त्यसको भण्डारण गर्ने अवस्था राम्रो नरहेको कारण खाद्यान्नमा अरु देशको भर पर्नुपरेको बताउँदै उहाँले उत्पादित वस्तुलाई व्यवस्थित तरिकाले राख्न भण्डारण राम्रो भयो भने आयात आफंै कम हुँदै जाने बताउनुभयो । कृषि उद्यमी पवन गोल्यानले एक नम्बर प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुन्छ ।

तर, त्यहाँ बीउको समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यहाँका किसानले मोटो धान उत्पादन गर्छन् तर मसिना धानको चामल खान्छन्, नार्कमा पनि विभिन्न जातका बीउहरु छन् तर किसानसम्म पुगेको छैन ।’कृषिको समग्र विकासका लागि तथ्यांक हुनु आवश्यक छ । तर, कृषिको विषयमा सरकारसँग कुनै तथ्यांक नरहेको बताउँदै उहाँले तथ्यांक नहुँदा ठिक ढंगले काम अगाडि नबढेको बताउनुभयो । कार्यक्रममा अरिहन्त एग्रोफार्मका सञ्चालक, सामेनाथ अधिकारी र राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले कोरोना महामारीलाई केन्द्रित गर्दै बजेट विनियोजन गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्