लोकतन्त्रका हामी नागरिक



जनार्दन घिमिरे

सुन्दै छु, तिमीले त कुर्सी बचायौ रे ! विडम्बना मैले आफन्त बचाउन सकिन । तिम्रामा बधाई दिनेको घुइँचो छ रे ! म त मलामी जानसम्म पाइन ।तिम्रामा चिल्ला गाडीको लस्कर हुँदा मैले बिरामी बोक्न एम्बुलेन्स पाइन । साथीहरु मिलेर मीठा–मीठा लड्डु खाँदै छौ रे ! मैले त एकमुठी अन्न पाइन । गत शनिबार कुनै अपरिचित मीना ढुंगानाले उपर्युक्त हरफहरुसहित लेखेको कविता फेसबुकमा झुल्कियो ।

कवितालाई ३–४ पटक पढेँ, कविताले आमनेपालीको भाषा यथार्थरुपमा बोलिरहेको थियो । अघिल्लो दिन एकातर्फझन्डै दुई तिहाइको बहुमत गुमाएर नानाथरीका तिकडम गर्दै, अल्पमत सरकारको नेतृत्व गर्नुलाई नै आफ्नो गौरवशाली विजयको रुपमा लिँदै, तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका खड्गप्रसाद ओलीले शपथ लिइरहेका थिए भने अर्कोतर्फ यिनै ओली सरकारको नालायकीपनले कतै एम्बुलेन्स नपाएर त कतै अस्पतालमा बेड अनि अक्सिजन नपाएर सर्वसाधारण नेपालीले मृत्युवरण गरिरहेका थिए । अझ यथार्थमा भन्ने हो भने, राज्यद्वारा जबर्जस्तरुपमा सर्वसाधारणको हत्या हुँदैथियो ।

संविधानतः नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक हो, जसको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । अथवा संविधानतः आज हामी लोक अर्थात् जनता–तन्त्र अर्थात् जनताको शासन व्यवस्था भएको शासकीय प्रणालीमा छौं । अझ यसैलाई अब्राहम लिंकनको शब्दमा भन्ने हो भने, जनताको, जनताद्वारा, जनताका लागि गरिने शासन व्यवस्थामा छौं । महान् विचारक एवम् दार्शनिक अरस्तु (एरिस्टोटल) ले लोकतन्त्रको अर्थ बौद्धिक दृष्टिमा समानता,संवैधानिक दृष्टिमा बहुमतको शासन अनिसामाजिक दृष्टिमा आमजनताको शासन भनेर व्याख्या गरेका छन् । तर हामीकहाँ संविधान जारी भएपश्चात्को पहिलो निर्वाचित सरकारले गरेको लोकतान्त्रिक अभ्यासमा न कहीँ कतै समानता देखिन्छ, न अहिले बहुमतको शासन छ, न त आम जनताको नै, यदि हुँदो हो त मीना ढुंगानाहरुले यस्ता कविता लेख्नुपर्दैनथ्यो र यदि लेखिन्थ्यो भनेपनि त्यसलाई चर्चाको विषय बनाउन आवश्यक ठानिन्नथ्यो ।वास्तवमा लोकतन्त्र एउटा शासन पद्धति मात्र नभई जीवन पद्धतिसमेत भएकोले लोकतान्त्रिक चरित्र हमेसा धार्मिक हुनुपर्छ ।

अतः जबसम्म नागरिकको नैतिक एवम् चारित्रिक स्तर उच्च हुँदैन तबसम्म विधि, विधान, निष्ठा, इमान भएकोशासन व्यवस्थाको कल्पनासमेत नगर्दा हुन्छ । अशिक्षा, आर्थिक असमानता, संकीर्ण सोच, नैतिकहीनता अनि जाति, भाषा, धर्म, संस्कृति, क्षेत्रीयताजस्ता कुराहरुलाई लिएर विभाजित नागरिक भएको समाजमा मूल्यहीन तथा सिद्धान्तहीन राजनीतिले प्रश्रय पाउनु कुनै आश्चर्यको विषय होइन । त्यसैले आज लुच्चा नीति, फटाहा नीति, छलछाम नीति, भ्रष्टाचार नीति, झुट नीतिलगायतका सारा कुनीतिहरु नै आमनेपालीको बुझाइमा राजनीति भएको छ । स्कुल वा कलेज पढ्दादेखि नैराजनीतिको नाममा ढाँट्ने, छल्ने, भत्काउने, कुट्ने, मार्ने अर्थात् संविधान र कानुन विपरीतका काममात्र गर्ने संस्कार बनाइसकेका, कुनै रचनात्मक कामको ज्ञान, सीप र अनुभवनभएकाहरुलाई राजनीतिक तपस्वी भन्दै आफ्नो प्रतिनिधि बनाउनेहामी नागरिक नै लोकतन्त्रका लागि सबैभन्दा ठूलो बाधक भएका छौं ।पहिलो लहरको कोरोना महामारीका बीच स्वास्थ्य सामग्रीको खरिदमा भएको अनियमिततालाई लिएर विरोधका स्वर उठ्न थालेपछि धम्कीपूर्ण भाषामा आमजनतालाईजीवन रोज्ने कि स्वतन्त्रता ?भनेर सोध्ने आँट वर्तमान युगमा नेपालबाहेक शायदै कुनैपनि लोकतान्त्रिक मुलुकको शासकले गर्न सक्ला । लोकतन्त्रमा नागरिकको भूमिका एउटा लोहार (कालिगढ) को जस्तो हुनुपर्छ ।

जसरी लोहारले फलाम बाङ्गो भएको देखेपछि त्यस ठाउँमा ठोकेर ठीकपार्छ त्यसरी नै लोकतन्त्रमा विश्वास गर्ने नागरिकले जस–जसले गलत गरेको देख्छ संविधानले दिएको हक–अधिकार प्रयोग गरी मुलुक र आमनागरिकको हितको रक्षार्थ त्यसलाई दण्डित गर्न सक्नुपर्छ ।हामीले अहिलेसम्म नागरिकको लोकतान्त्रिक अधिकार भनेको चुनावमा मत दिनुसम्म मात्र हो भन्ने बुझ्यौं तर वास्तवमा चुनाव हुनु, मतदान गर्नु, प्रधानमन्त्री, सभामुख वा राष्ट्रपति चुनिनु भनेको त लोकतान्त्रिक प्रक्रियाको पहिलो खुड्किलो मात्र हो । जबसम्म जनताले चुनेका प्रतिनिधिहरुबीच मुलुक अनि जनताको सवालमा विचार–विमर्श हुँदैन अनि जबसम्म सरकारको प्रत्येक क्रियाकलापमा जनताको सहभागिता हुँदैन अथवा गराइँदैन भने त्यसलाई कसरी लोकतन्त्र भन्ने ? आज नेपालको लोकतन्त्र जर्ज बर्नाड शाले भनेजस्तै जनतालाई भ्रमितगर्ने तन्त्र भएको छ, जहाँ जनतालाई भन्ने गरिन्छ ऊ नै शासक हो, जबकि वास्तविक सत्ता केही चल्तापुर्जा छट्टु मानिसहरुको हातमा रहेको हुन्छ ।आज चौतर्फीरुपमा मुलुकको अवस्था जर्जर भएको छ ।

यो कुनै नियतिले गर्दा भएको होइन । यसको लागि पूर्णरुपमा हामी स्वयं जिम्मेवार छौं ।क्रान्ति र परिवर्तनकै नाममा रातारात उत्पन्न गराइएका झिल्के नेताहरुको पछिलाग्दा अन्य मुलुकहरुले बेहोरेको परिणाम हामीले सुन्दै र पढ्दै आएतापनि आज हामी जानी नजानी त्यही गर्दैछौं । गोर्भाचोभ र लेण्डुपहरु पनि राम्रो वक्ता थिए र जनताले अन्धो भक्तिका साथ खूबै पत्याएका थिए, जसलेगर्दा गोर्भाचोभलाई सोभियत संघ विघटन गराएर विदेशीको इच्छा पूरागर्न र लेण्डुपलाई इन्दिरा गान्धीको इच्छा पूरागर्न सजिलो भएको थियो ।आजको यस आधुनिक युगमा पनि हामी मान्छे मारेका, टाउको गिँडेका, भट्टामा मान्छे जलाएका, गैंडाको खाग चोरेका,तस्करी गरेका, सरकारी जग्गा कब्जा गरेका, अपहरणकारीजस्ता अपराधीहरुलाईखोजी–खोजी नेता बनाउँछौं। संसार एउटा बाटोमा हिँडिरहेको छ भने हामी अर्कै बाटोमा,अनि मुलुक बदलिएन भनेर गुनासो गर्छौं । कोदो रोपेर धान फल्दैन भनेर हामीले कहिले बुझ्ने ?

२०७४ फाल्गुण ३ गते १७४ जना सांसदहरुको साथ र समर्थनमा प्रधानमन्त्री भएका ओलीले २०७८ वैशाख २७ गते त्यही संसद्मा विश्वासको मत लिँदा जम्मा ९३ मत पाएका थिए । मुलुकभरिका घाटहरुमा सामूहिक शव दहन चलिरहँदा दलहरु भने गिद्धले सिनो लुछेझैँ सत्ताको लुछाचुँडीमा व्यस्त थिए । विभिन्न तिक्डमका बीच बहुमतीय सरकार गठन हुन नसकी जब उनै ओलीले अल्पमतको सरकारका लागि पुनः नियुक्ति पाए तब सामाजिक सञ्जालमा उनलाई बधाई अनि शुभकामना दिनेहरुको ओइरो लाग्यो । यो बधाई अनि शुभकामना केका लागि ? एसियाकै १६ देशहरुमा गरिएको मत सर्वेक्षणमा उनले नेपाललाई सबैभन्दा भ्रष्ट मुलुक बनाउन सफल भएकोमा हो कि ? उनले नेतृत्व गरेको सरकारले प्रशान्त महासागरमा नेपाली झन्डा फहराउँदै पानीजहाज चलायो कि? उत्तर–दक्षिण चुच्चे रेल कुदायो कि? भान्सा–भान्सामा ग्यासका पाइप जोडिदियो कि ? महामारीमा नागरिकको स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध ग-योकि ? केका लागि हो ?यसको एउटै उत्तर छ, आजको दिनमा हामी कोही नेपाली रहेनौं । दलकै शिक्षक, दलकै प्राध्यापक, दलकै डाक्टर, दलकै वकिल, दलकै न्यायाधीश, दलकै पुलिस, दलकै कर्मचारी, दलकै अख्तियार, सबैचिज दलको । नेपाल र नेपालीको केही छैन । आज हामी संसारकै यस्ता नागरिक भएका छौं, जो विकासमा होस् कि सुशासनमा, सार्वभौमिकतामा होस् कि महामारीमाआफू र आफ्नोमुलुक हारिरहँदा गौरव गरिरहेका छौं ।

राजनीतिको स्कुलिङमा नेतृत्वमा आउन आमजनताको भन्दा कमसेकम एक तह माथिको चेतना स्तर हुनुपर्ने भनेको सुनिन्थ्यो तर वास्तविकता भने आमजनताको चेतनाको स्तरले कस्तो नेतृत्व निर्माण गर्ने भन्ने निर्धारण हुँदो रहेछ भन्नेकुरा आजको नेपाल हेर्दा प्रस्टहुन्छ ।लोकतन्त्रप्रति अलिकति पनि विश्वास राख्ने नागरिकले कमसेकम यतिसम्म ज्ञान राख्नुपर्छ कि जानी–जानी भ्रष्ट र नैतिकहीन राजनीतिज्ञलाई प्रोत्साहन गर्ने, समर्थन गर्ने अनि निर्वाचित गर्ने जनता पीडित होइनन्, मतियार हुन् । दलका कार्यकर्ताहरु त दास भइहाले, जसले दलको सदस्यता लिएकै दिन आफ्नो बुद्धि–विवेक, स्वाभिमान अनि नैतिकतालाई तिलाञ्जलि दिएका हुन्छन् । तर आमजनता र बुद्धिजीवी अनि नागरिक समाज भनिएकाहरुसमेत केहीलाई छोडेर भन्ने हो भने, राज्यबाट भइरहेको अन्याय, अत्याचार, भ्रष्टाचार अनि कुशासनका विरुद्ध आवाज उठाउनुको सट्टा आत्मसमर्पण गर्ने, प्रश्न गर्न डराउने, विरोध–प्रतिरोध नगर्ने, अझ भन्ने हो भने चाकडी अनि स्तुतिगान गरेर तिनै विवेकहीन शासकहरुको निगाहमा प्रगति गर्न खोज्नुले हाम्रो लोकतन्त्रप्रतिको बुझाइ प्रस्टहुन्छ ।नेपालको पहिचान भनेको सगरमाथा हो, बुद्ध हुन्, हिन्दुत्व हो, वीर गोर्खाली हुन्, सभ्यता अनि संस्कृति हो तर तन, मन अनि धनले दरिद्र भएकाहरु शासनमा आउँदै गर्दा मुलुकको भौतिक मात्र नभई धर्म, संस्कृति, सभ्यता अनि इतिहाससम्म बिक्रीहुँदै गएका छन् ।

तर पनि हामी तिनीहरुबाट नै आफ्नो हक–अधिकार सुरक्षित देख्छौं, तिनले नै सुशासन अनि समृद्धि दिन्छन् भन्दै तिनकै लागि आराधना गर्छौं, जसको परिणाम हो आजको भ्रष्ट, नैतिकहीन अनि विवेकहीन सरकार।आज पनि केही बुद्धिजीवी कहलिएकाहरुले भनेको सुनिन्छ, यति बेला यो सरकारको विरोध गर्नु ठीक होइन । त्यसो भए के भ्रष्टाचार, विवेकहीनता अनिअराजकता ठीक ? महामारीमा औषधि उपचार नदिएर नागरिकको भइरहेको नरसंहार ठीक ? बढ्दो अपराधीकरण ठीक ? झुटमुटका शिलान्यास भइरहेका कागजी अस्पताल र सडक ठीक ? गोविन्द केसी, महावीर पुन, कुलमानजस्तालाई दुत्कार्दै पाखा लगाएर एकसेएक नालायक अनि भ्रष्टाचारीहरुको नियुक्ति ठीक ?जसरी बस, रेल, बसपार्क, एयरपोर्ट वा सार्वजनिक ठाउँमा हामीले ‘यात्रुले आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोस्’ भनेर लेखेको देख्छौं, त्यसरी नै लोकतन्त्रले पनि आफ्नोहक–अधिकारको सुरक्षागर्न नसक्ने नागरिक भएको मुलुकमा सुखद परिणाम दिन सक्दैन ।लोकतन्त्रमा विश्वास राख्ने नागरिकले आफूले खोजेको सरकार र भोग्दै गरेको सरकारबीचको भिन्नता छुट्याउन सक्ने क्षमता राख्नुपर्दछ ।

हामीलाई यो अराजक, अनुशासनहीन, नैतिकहीन, विवेकहीन अनि भ्रष्ट, दलाल, कमिसनखोर होइन कि कठोर, अनुशासित, मुलुक तथा नागरिकप्रति इमानदार र उत्तरदायी सरकार चाहिन्छ भन्न सक्नुपर्छ । त्यसैको पक्षमा विभिन्न माध्यमहरुबाट आफ्नो अभिमत प्रकटगर्ने आँट गर्न सक्नुपर्छ । होइनभने हिजोका दिनमा प्रजातन्त्रको नाममा गिरिजाप्रसाद र शेरबहादुरहरुले लुटे, आजको दिनमा लोकतन्त्रको नाममा खड्गप्रसादहरु लुटदै छन् अनि भोलिका दिनमा कुनै अर्को तन्त्रको नाममा कोही अर्कोले मुलुक अनि जनतालाई लुट्नेछ ।

प्रतिक्रिया दिनुहोस्