बजेट रकमान्तर माग



हेटौंडा, नेस
मकवानपुरमा क्रियाशील गैरसरकारी संघसंस्थाले परियोजनामा विनियोजित बजेट कोभिडका कारण कार्यान्वयन हुन नसक्ने अवस्था रहेको भन्दै उक्त बजेट सहयोगदाताको परामर्शमा वर्तमान कोभिड संकट व्यवस्थापनमा रकमान्तरको आवश्यकता औंल्याएका छन् । संकट न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सामग्री पीपीई, किट, मास्क, अक्सिजन सिलिन्डर, बेड, सीसीयु, आईसीयुलगायत आवश्यक औजार, ग्लोब्स्लगायत अत्यावश्यक सामग्री खरिदका लागि सरोकारवाला दातृ संस्थाको परियोजना बजेट रकम रकमान्तर गर्न माग गरिएको हो ।

समाज कल्याण परिषद्ले दातृ निकायसँग चालू परियोजना बजेटको कम्तिमा ५० प्रतिशत रकम रकमान्तरण गर्न सकारात्मक पहलकदमी र निर्णयका लागि अपिल गरिएको हो । सो प्रक्रिया अगाडि बढाउन नागरिक समाजका संघसंस्थामा अपिल गरिएको छ ।गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला समिति मकवानपुरको आयोजनामा जिल्लामा क्रियाशील विभिन्न नागरिक समाज संघसंस्थाको भर्चुअल सहभागितामा भएको छलफलले उक्त अपिल गरेको हो । संकटको समयमा विभिन्न सामग्रीमा कालोबजारी हुने गरेको गुनासो भएकोले यस्ता संकटमा मानवीयता प्रदर्शन गर्न र गराउन सम्बन्धित सबै पक्षमा अपिल गरिएको छ । बैठकले जिल्लाभित्र कोभिड संकट व्यबस्थापनका लागि तीनै तहका सरकारबीच प्रभावकारी थप समन्वय आवश्यकता महशुस गरेको छ । सोअनुसार छिटोछरितो सेवामा थप समन्वयका लागि अपिल गरेको छ । नागरिक समाज संघसंस्थासँग प्रभावकारी समन्वयका लागि अनुरोध गरिएको छ ।कोभिड उपचार र रेखदेख पद्धतिको राम्रोसँग भौतिकभन्दा सकेसम्म विधि र औजार प्रयोग गरी अवस्था विश्लेषण, अभिलेखीकरण, योजना निर्माण कार्य, कार्यान्वयन र अनुगमनका लागि नागरिक समाजले संघसंस्थामा अपिल गरेको छ ।

अक्सिजन प्लान्ट, भेन्टिलेटर निर्माणका लागि प्रदेश सरकार, जिल्ला समन्वय समिति र १० वटै स्थानीय तहमा बजेट विनियोजन र द्रुत कार्यान्वयनका लागि सम्बन्धित पक्षमा अपिलसहित यस कार्यमा थप सहयोग र सहजीकरणका लागि सबै व्यावसायिक तथा पेशागत संघसंगठन, अधिकारकर्मी, सहयोगीदातामा अपिल गरी यसको कार्यान्वयनमा थप अभिभावकीय भूमिका र प्रभावकारी समन्वयका लागि जिल्ला समन्वय समिति मकवानपुरमा अनुरोध गरिएको छ ।विभिन्न आइसोलेसनमा खाद्यान्न तथा अक्सिजन सिलिण्डर आवश्यक देखिएकाले सहयोग लागि मनकारी सबै पक्षमा हार्दिक अपिल गरिएको महासंघ सचिव बोलबहादुर कार्कीले बताउनुभयो । निषेधज्ञापश्चात् घरभित्र रहँदा नागरिक तहमा मानसिक असर परिरहेकोले आवश्यक मनोपरामर्श, निःशुल्क टेलिफोन सेवा र खाद्यान्न संकट परेका अतिविपन्नका लागि खाद्यान्न सहयोग गर्न सबै पक्षमा अपिल गरिएको छ ।

‘कोभिड संक्रमितका लागि प्लाज्मा आवश्यक परिरहेको हुँदा यसका लागि आवश्यक पर्ने मेशिनरी सामग्री र प्लाज्मा बैंक स्थापनाका लागि रेडक्रसलगायत सम्बन्धित पक्षमा हार्दिक अपिल गरेका छौं,’ उहाँले भन्नुभयो–कोभिड संकटकै समयमा बालविवाह, बालबालिका हराउने, घरेलुहिंसा, चोरीडकैतीलगायत घटना भइरहेकोले यसतर्फ सचेत हुुनु जरुरी छ । बालबालिकालाई उपचारमा प्राथमिकता दिँदै बालमैत्री आइसोलेसन र बालमैत्री अस्पताल व्यबस्थापनका लागि अपिल गरेका छौं । ‘कोभिड संकट देशको साझा संकट हो । यसबाट बच्ने, बचाउने कर्तव्य हामी सबैको हो । हाम्रो साझा प्रयास, पहलकदमीबाट मात्र हामी कोभिड संकट पार लगाउन सक्छौं,’ उहाँले भन्नुभयो–‘यसका लागि सबै जिम्मेवार बनौं, संकट व्यवस्थापनको अनुगमन गरौं, खबरदारी गरौं, सकारात्मक सुझाव दिऔं, सहयोग गरौं, जुटाआंै । ’

प्रतिक्रिया दिनुहोस्