आगामी बजेटमा स्वास्थ्यमा विशेष केन्द्रित हुने



नेपाल समाचारपत्र, बाँके

नेपालगन्ज उपमहानगरपालिकाले आगामी बजेटमा महामारी र स्वास्थ्यमा विशेष फोकस गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिका मेयर डा। धवलशमशेर राणाले आगामी बजेटमा महामारी र स्वास्थ्यमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले आगामी दिनमा आइसोलेसन सेन्टरलाई प्रभावकारी बनाउने, बेड संख्या बढाउने र अक्सिजनको व्यवस्था गरिने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका दोस्रो वर्ष पनि कोरोनाको हटस्पट बनेको छ । सीमावर्ती नगर भएकाले नेपालगन्ज सधैं नै कोरोनाको जोखिममा रहने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकालाई आफ्नो क्षेत्रसँगै भारतबाट आवतजावत गर्ने पहाडी जिल्लाका मानिसको समेत स्वास्थ्यमा ख्याल गर्नुपर्ने पर्छ । भारतबाट जाने र आउने हजारौं मानिसलाई नेपालगन्ज उपमहानगरपालिकाले नाकामा स्वास्थ्य जाँच गर्ने र सुरक्षित तवरले घरतर्फ पठाउने गर्दछ ।

दोस्रो वर्षको कोरोना महामारीसम्म आइपुग्दा नेपालगन्ज उपमहानगरपालिकाको एकजना जनप्रतिनिधि र दुई जना कर्मचारीले ज्यान गुमाएका छन् । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरसफाईकर्मी गरी एक सय ५९ जना संक्रमित भइसकेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले कोरोना नियन्त्रणमा कुनै कसर बाँकी नराखेको मेयर डा राणा बताउनुहुन्छ । उहाँले आगामी वर्ष अझ व्यवस्थित तरिकाले अघि बढ्ने बताउनुभयो । कोरोना नियन्त्रणका लागि उपमहानगरपालिकाले यो वर्ष ५४ जना स्वास्थ्यकर्मी करारमा नियुक्ति गरेको थियो । त्यसमध्ये १५ जना भेरी अस्पतालमा पठाएको छ । बाँकीलाई जमुनाहास्थित हेल्थडेस्क, आइसोलेसन केन्द्र र वडास्थित स्वास्थ्य कार्यालयमा परिचालन गरेको छ ।उपमहानगरपालिकाले कोरोनाका बिरामीका लागि रामलिला मैदानस्थित ५० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाएको छ । जहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख रहने गरेको छ । यहाँ जेठ २ गतेसम्ममा ८५ जनाले सेवा लिइसकेका छन् ।

त्यही नजिक रहेको बाल मन्दिरमा आइसोलेसन केन्द्र निर्माणका लागि काम अघि बढाइएको छ । भारतबाट फर्किने लागि नाकामा एन्टिजेन परीक्षण गरेर संक्रमितलाई ह्वाइट हाउसमा बनाइएको ५० बेडको आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ । यो आइसोलेसनमा घरमा बस्ने व्यवस्था नभएकालाई पनि राख्ने गरिएको छ । वैशाख ४ गतेदेखि जेठ १ गतेसम्म यहाँ एक सय ५ जनाले सेवा लिएका छन् । नेपालगन्जको वडा नं। ४ मा १० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरिएको छ । जहाँ चिकित्सक खटिएका छन् । त्यहाँ २७ जनाले सेवा लिइसकेका छन् । वडा नं। १२ मा १४ बेडको आइसोलेसन सेन्टर बनाइएको छ । इन्द्रेणी होटलमा रहेको आइसोलेसन केन्द्रमा उपमहानगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

नगरका २३ वटै वडामा कोभिड रोकथाम र नियन्त्रणका लागि फोकलपर्सन चयन गरेर खटाइएको छ । उनीहरुले होम आइसोलेसनमा रहेका संक्रमितको नियमित सम्पर्कमा रहेका छन् । वडा नं १३ र १८ नम्बरमाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेका छन् । कोभिड रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन मेयर डा। राणाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ । उपमहानगरपालिकाले भेरी अस्पतालमा रहेका संक्रमित र उनका कुरुवालाई खाना खुवाउनका लागि मासिक एक लाख रुपियाँ दिइरहेको छ । कोभिड नियन्त्रणका लागि वडामा चिकित्सकसहित घरदैलो, निःशुल्क औषधि, एक्सरे र अक्सिजनको व्यवस्था गरिएको छ । नियमित फोन परामर्श, निःशुल्क एम्बुलेन्स सेवा, सेनिटाइजर हाइजिन किट वितरण गरिएको छ ।

उपमेयर उमा थापामगरले नेपालगञ्ज उपमहानगरपालिकाले आगामी दिनमा कोभिड नियन्त्रण र रोकथामको पूर्व तयारीलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । उहाँले आगामी बजेटमा कोभिड संक्रमणको दरलाई मध्यनजर गरी रोकथाम र नियन्त्रणमा केन्द्रित भई अघि बढ्ने योजना बनाएको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं। १ का अध्यक्ष प्रमोद रिजालले चिकित्सकसहित होम आइसोलेसनमा बसेका व्यक्तिलाई भेट्न जाँदा उनीहरुको मनोबल बढेको पाइएको र त्यो अति नै प्रभावकारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्