‘औषधि तथा स्वास्थ्य सामग्रीको भन्सार जाँचपास तुरुन्तै’



नेपाल समाचारपत्र, काठमाडौं

अर्थमन्त्री विष्णुप्रसाद पौडलले औषधि तथा स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन दिनुभएको छ । सोमबार भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जालगायतका सामग्रीे बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिनुभएको हो ।

कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिनुपर्ने अर्थमन्त्रीको भनाइ छ । अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ । एकातिर कोभिड–१९ बाट जोगिनुपर्ने र अर्कोतिर प्रभावकारी रूपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीले आग्रह गर्नुभयो ।

त्यस्तै अर्थसचिव शिशिरकुमार ढुंगानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपाससम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिनुभयो । कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयसँग समन्वय गरी २४संै घण्टा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो । साथै भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्