६ वर्षमा ३ हजार घर निर्माण



पर्वत, नेस

भूकम्प गएको ६ वर्षमा पर्वतमा ३ हजार ४४४ निजी आवास पुनर्निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन, इकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनर्निर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

जिल्लामा भूकम्पले घर भत्किएको भन्दै अनुदान सम्झौता गर्नेको संख्या ५ हजार ८७६ रहेको छ । यीमध्ये केही प्रबलीकरणतर्फका लाभग्राही हुन् । पुनर्निर्माणका लागि कार्यालयले अहिलेसम्म १ अर्ब ३३ करोड २० लाख रुपियाँ लगानी भएको बताएको छ । पूर्णक्षति भएका लाभग्राहीलाई कार्यालयले तीन किस्तामा कुल ३ लाख रुपियाँ र प्रबलीकरण गर्नुपर्ने लाभग्राहीलाई १ लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ । जिल्ला आयोजना कार्यालयका प्रमुख कृष्णराज गौतमले आगामी असार मसान्तसम्ममा जिल्लामा पुनर्निर्माणको काम सक्नुपर्ने दायित्व रहेको बताउनुभयो । प्रबलीकरणतर्फ कसैले पनि काम नगरेकाले भौतिक प्रगति बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । कार्यालयले ३ सय ४८ जनाले प्रबलीकरणबाट पुनर्निर्माणमा र १ सय ३० जनाले प्रबलीकरणबाट मर्मतमा परिवर्तन गरेको बताएको छ । सडक पुनर्निर्माणको सूचीमा रहेका पातीचौर, मैदान लप्सीबोट सडक ३ किलोमिटर ७ सय मिटर कालोपत्र गर्ने काम भने गतिका साथ अगाडि बढ्न सकेको छैन ।

यस सडकको केही खण्डमा ढलान गर्ने र नाली बनाउने काम बाहेक अरु काम अगाडि नबढेको कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख छ । २०७२ वैशाख १२ को भूकम्पका कारण घर भत्किए पनि प्राविधिकले मूल्यांकन गर्दा क्षतिको सूचीमा नपारेको भन्दै जिल्लाका १ हजार ५ सय ९० जनाले प्राधिकरणविरुद्धमा मुद्दा दर्ता गरेका छन् । ती मुद्दाको किनारा लाग्न केही समय लाग्ने पनि कार्यालयले जानकारी दिएको छ । लाभग्राहीले घर बनाउने कामलाई चासो नलिएको कार्यालयका सूचना अधिकारी पोषनाथ शर्माले बताउनुभयो । आबश्यक परेको बेला डकर्मी, सिकर्मी नपाउने, मूल्यांकनका लागि प्राविधिक नआउने कारण काम गर्न अप्ठ्यारो भएको लाभग्राहीले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्