दुई बैंक गाभिएर देशकै ठूलो बैंक बन्दै



नेपाल समाचारपत्र, काठमाडौं

लामो रस्सा कस्सीपछि दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एकआपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकको मर्जर एन्ड एक्विजिसनको नीतिअनुसार यी दुई बैंक गाभिने धएका हुन् । गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गर्नुभयो ।

दुवै बैंक एकआपसमा गाभिएपछि बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहनेछ । सञ्चालक समितिको अध्यक्षमा पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा हाल हिमालयन बैंकको सीईओ अशोक शमशेर राणा रहने सहमति भएको छ । त्यसैगरी गाभिएपछि गठन हुने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३-३ जना सञ्चालक नियुक्त हुने तथा नयाँ सञ्चालक समितिले एकजना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ । मर्जरपछि बैंकको चुक्ता पुँजी ।२६ दशमलव ९४ अर्ब रुपियाँ हुनेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ दशमलव २६ अर्ब तथा हिमालयन बैंकको चुक्ता पुँजी १० दशमलव ६८ अर्ब रुपियाँ रहेको छ । नयाँ बन्ने बैंक चुक्ता पुँजीका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्ने भएको छ । अहिलेसम्म करिब २७ खर्ब रुपियाँ चुक्ता पुँजी भएको कुनै बैंक छैन ।

मर्जरका सम्बन्धमा दुवै बैंकका अध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गरेको भए पनि शेयर मूल्यको स्वाप रेसियोका विषयमा भने खुलाइएको छैन । यसअघि हिमालय बैंकको १०२ रुपियाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको १ सय रुपियाँ शेयर मूल्य कायम भएको चर्चा चले पनि त्यसमा सहमति हुज सकेको थिएन । पुनः डीडीए गरेपछि स्वाप रेसियो निर्धारण हुने बताइएको छ । दुवै बैंकका संस्थापक लगानीकर्ता एउटै पारिवारिक पृष्ठभूमि रहेकाले मर्जरमा जान दबाब परेको थियो । मर्जरपछि बैंकको कुल निक्षेप ३ खर्ब ११ अर्ब रुपियाँ र कर्जा लगानी २ खर्ब ८७ अर्ब रुपियाँ पुग्नेछ । त्यसैगरी रिजर्भमा १९ अर्ब ७४ करोड पुग्नेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोष १४ अर्ब १० करोड रुपियाँ र हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपियाँ रहेको छ । कर्जा लगानीतर्फ नेपाल इन्भेष्टमेन्टको १६० अर्ब ९८ करोड र हिमालयन बैंकको १२७ अर्ब १४ करोड रुपैयाँ रहेको छ । निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको १६८ अर्ब २९ करोड र हिमालयन बैंकको १४३ अर्ब ७० करोड रुपियाँ रहेको छ ।

त्यस्तै हाल हिमालयन बैंकको ६९ वटा शाखा र इन्भेष्टमेन्ट बैंकका ८३ शाखा गरी कुल १५२ वटा शाखा कार्यालय रहेछन् । जसमा एक दर्जनबढी शाखा कार्यालय एकै स्थानमा हुने भएकाले स्थानान्तरण हुने छन् । मर्जरपछि बन्ने नयाँ बैंकका कर्मचारीको संख्या २५ सय पुग्नेछ । हिमालयन र इन्भेष्टमेन्ट बैंकले कर्मचारी व्यवस्थापनको लागि स्वेछिक अवकासको योजना एकीकृत कारोबार अगाडि बढाउने भएका छन् ।सहमतिपछि दुवै बैंकका अध्यक्षले उत्कृष्ट बैंक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिबद्धताका साथ मर्जर कार्यमा लागेको दुवै बैंकका अध्यक्षले जनाएका छन् ।

५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने

बैंकहरूमा ५० हजार रुपियाँभन्दा कम रकम निक्षेप जम्मा गर्न नपाइने भएको छ । निषेधाज्ञाका बेलामा पनि बैंकको शाखामा भीडभाड भएपछि राष्ट्र बैंकको अनुमतिमा नेपाल बैंकर्स संघले निषेधाज्ञा अवधिभर ५० हजारभन्दा कमको निक्षेप स्वीकार नगर्ने निर्णय गरेको हो ।
संघले ग्राहकको खाताबाट पैसा भने झिक्न दिने निर्णय गरेको छ । बैंकबाट रकम स्थानान्तरण, विप्रेषण भुक्तानी, अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित सेवा पाइने छ। यसबाहेक सबै बैंकिङ सेवा बन्द हुनेछ । साथै संघले डिजिटल बैंकिङ सेवा लिन आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्