पर्वत अस्पतालमा बेड अभाव स्थानीय तहले सहयोग गरेनन्



दुर्गाप्रसाद शर्मा, पर्वत

कोभिड–१९ बाट संक्रमितका लागि उपचार गर्न पर्वत अस्पतालमा बेड अभाब भएको छ । पर्वत अस्पतालले सञ्चालन गरेको कोभिड उपचार कक्ष (आइसोलेसन) का बेड बिरामीले भरिएपछि थप बिरामी राख्न बेड अभाव भएको हो ।पर्वत अस्पतालले १० बेड क्षमताको आइसोलेसन सञ्चालन गरिरहेको छ । तर अहिले ११ जना बिरामीको उपचार भइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालको नयाँ भवनमा बिरामी राख्नका लागि थप २० बेडको आइसोलेन सञ्चालन गर्ने तयारी गरिए पनि जनशक्तिको अभावमा शुरू हुन नसकेको हो । ‘१० बेड क्षमताको कोभिड उपचार कक्षमा बिरामीले बेड भरिएको छ’, उहाँले भन्नुभयो– ‘अहिले ओपीडीमा राखेर बिरामीको उपचार भइरहेको छ ।’

पर्वत अस्पतालमा बेडमै अक्सिजनसहितको कोभिड उपचार कक्ष सञ्चालनमा छ । पर्वत अस्पतालको नयाँ भवनमा थप २० शै्ययाको उपचार कक्ष बनाउने तयारी भएपनि जनशक्ति र अन्य पूर्वाधार तयार नभएकाले सञ्चालन गर्न कठिन भएको छ । निर्माणाधीन नयाँ भवनमा शौचलायलगायतका पूर्वाधारसमेत तयार गर्नुपर्ने अवस्था छ ।अस्पतालमा ५० थान अक्सिजनका सिलिन्डर भएका कारण त्यसलाई प्रयोग गरेर आइसोलेसन बनाउन सकिन्छ । त्यसका लागि अस्पतालसँग स्रोत नभएकाले सञ्चालन गर्न नसकिएको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।डाक्टर नभए पनि बिरामीको स्याहार गर्नका लागि स्टाफनर्स लगायतको जनशक्ति आवश्यक छ, तर अस्पतालको जनशक्तिले अहिले व्यवस्थापन गर्न नसकिने उहाँको भनाइ छ । ‘बिरामीलाई अक्सिजन दिएर राखेर मात्र भएन, अन्य केयर गर्नका लागि केही नर्सिङ स्टाफ त चाहिन्छ’, उहाँले भन्नुभयो– ‘थप जनशक्तिका लागि प्रदेश र स्थानीय तहले सहयोग गर्नुपर्छ ।’

पर्वत अस्पताल १५ बेड क्षमताको हो । अहिले पनि १५ बेड क्षमताकै जनशक्ति र आर्थिक स्रोत मात्र प्राप्त हुन्छ । तर, अस्पतालले ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिँदै आएको दाबी अध्यक्ष पहाडीको छ । जनशक्तिको अभावमा पर्वत अस्पतालमा रहेका पाँच बेड आईसीयू र तीन ओटा भेन्टिलेटर पनि सञ्चानलनमा आउन सकेका छैनन् । सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आईसीयू र भेन्टिलेटर प्रयोगविहीन भएका छन् । अस्पतालमा रहेको आइसोलेसनमा रहेका बिरामी गम्भीर अवस्थामा पुग्दा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था छैन ।गत वर्ष पर्वतका सबै स्थानीय तह मिलेर पर्वतमा अस्थायी कोभिड अस्पाल सञ्चालनमा ल्याएका थिए । अहिले भने जलजला, महाशिला, फलेबास लगायतका स्थानीय तहले आफ्नै अस्थायी कोभिड अस्पताल सञ्चालन गरेका छन् । कुस्मा नगरपालिका र मोदी गाउँपालिकाले पर्वत आफ्नो आइसोलेसन तयार नगरेका कारण पर्वत अस्पतालमा नै बिरामीको उपचार भैरहेको छ । तर, कुस्मा नगरपालिकाले पनि गत वर्षजस्तो यसपटक सहयोग नगरेको गुनासो अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीको छ ।

अस्पतालको नयाँ भवनमा शौचालय बनाउन कुस्मा नगरपालिकाले सहयोग गर्ने भने पनि एउटा पसलमा चारवटा फुटेका चर्पीका प्यान मात्र दिएको हुँदा ती सामानसमेत प्रयोग नगरिएको उहाँको भनाइ छ । थप बिरामी राख्न आइसोलेसन बनाउने कुरामा नगरपालिकाले सहयोग नगरेको अध्यक्ष पहाडीले बताउनुभयो । ‘कुस्मामा बिरामी भएपछि आउने पर्वत अस्पतालमा नै हो, यो संकटका बेला अन्य पालिकाले सहयोग गरेनन् भनेर कुस्माले पनि हात झिक्न हुन्न’, अध्यक्ष पहाडीले भन्नुभयो– ‘कुस्माको सहयोग पाउने हो भने अस्थायी आइसोलेसनमा थप २० बेड चलाउन सकिन्छ ।’पर्वत अस्पतालको आइसोलेसनमा बिना पीपीई सेटबिना नै कुस्माका प्रमुख रामचन्द्र जोशीले बिरामी भेटेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ । सकारात्मक र नकारात्मक दुवै हिसाबले टिप्पणी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्