कोरोनाले कृषि क्षेत्रमा पारेको असरबारे अध्ययन हुने



नेपाल समाचारपत्र, काठमाडौं

राष्ट्रिय किसान आयोगका नवनियुक्त अध्यक्ष डा प्रेमप्रसाद दंगालसहित सदस्यहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सपथ ग्रहण गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा।प्रेमप्रसाद दंगाललाई सपथ ग्रहण गराउनु भएको हो ।

त्यसैगरी अध्यक्ष दंगालले विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई सपथग्रहण गराउनु भएको थियो । सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अर्यालले किसानका समस्याहरूमा केन्द्रित रहेर बिस्तुत अध्ययन गरी समस्या समाधानमा योगदान गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशित गर्नुभयो । झण्डै दुई तिहाइ जनसंख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउन आयोगसमक्ष रहने मन्त्री अर्यालले अपेक्षा व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै कृषि क्षेत्रका मौजुदा नीति, ऐन, नियमलगायतका कानूनी व्यवस्थामा रहेका नीतिगत भिन्नतालाई समयसापेक्ष सुधारका सम्बन्धमा राय, नयाँ नीति, ऐन वा नियमावली निर्माणमा सहयोग, किसान कल्याणकारी योजना तर्जुमा, किसान पहुँचको सुनिश्चितता, बजार सरलीकरण, कृषि पेशालाई आकर्षित एवं सम्मानित बनाउन आवश्यक सुझाव तथा पहलकदमी, किसान संघसंगठनरूको दर्ता तथा नियमनलगायतका कार्यहरूमा सरकारलाई सल्लाह, सुझाव सहितका कार्यहरू निरन्तर रूपमा अगाडि बढाउन आयोगका पदाधिकारीसँग अपेक्षा व्यक्त गर्नुभयो । कोरोना महामारीले कृषि क्षेत्रमा पारेका असरको अध्ययन गर्दै किसानलाई आवश्यक उत्पादन सामग्रीको उपलब्धता तथा उत्पादन भएका कृषि उपजलाई बजारको सुनिश्चिततामा समेत आवश्यक सुझाब सरकारलाई पेश गर्न उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्