पुँजी बजार लयमा फर्किन थाल्यो



नेपाल समाचारपत्र, काठमाडौं

कोरोना संक्रमण वृद्धि भइरहेका बेला आर्थिक सूचकहरूमा नकारात्मक असर पर्ने आंकलन हुँदै गर्दा पुँजी बजार भने लयमा फर्किन थालेको छ । यसैक्रमा नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ ।कोरोना संक्रमण र राजनीतिक वातावरणमा फेरबदल देखिए पनि लगानीकर्ताको आत्मबल बढ्दै जाँदा नेप्सेमा सुधारको संकेत देखा परेको विश्लेषकहरूको भनाइ छ । निषेधाज्ञा तथा राजनीतिक हुँदै गर्दा लगानीकर्ताले नाफा सुरक्षित गरेका थिए ।

अहिले नेप्से दोहोरो अंकको छलाङ देखिए पनि अझै अधिकांश आकर्षक मानिएका कम्पनीको शेयर मूल्य दुई महिना अघिको तुलनामा कम नै छ । सुधारिने क्रमा अघिल्लो दिन २७ अंकले बढेको नेप्से परिसूचक मंगलबार पनि समान अंकले नै बढेको छ । यस दिन नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २६७३ दशमलव ३१ बिन्दुमा पुगेको छ ।परिसूचकसँगै कारोबार रकममा पनि मंगलबार सुधार देखिएको छ। सोमबार सवा चार अर्ब रुपियाँको कारोबार भएको नेप्सेमा मंगलबार पौने ६ अर्ब रुपियाँको शेयर खरिद बिक्री भएको छ । कुल २२० कम्पनीको एक करोड ८ लाख कित्ता शेयर ५ अर्ब ८१ करोड रुपियाँमा कारोबार भएको नेप्सेले जनाएको छ । जसमध्ये १८ वटा कम्पनीको शेयर मूल्य स्थिर र २१ कम्पनीको मूल्य घटेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएका सबै समूह बढेको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह २६७ अंक, व्यापार समूह २२१ अंक र निर्जीवन बीमा समूह १७६ अंकले बढेका छन् ।मंगलबार बोटलर्स नेपाल तराई, रुरु जलविद्युत, युनाइटेड मोदी हाइड्रोपावर, गुह्रेवेश्वरी मर्चेन्ट बैंक र समता घरेलु लघुवित्तको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। तर, विशाल बजार कम्पनीको शेयर मूल्य भने लगातार चौथो दिन पनि १० प्रतिशतले नै घटेको छ। त्यस्तै यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ७६ करोड रुपियाँको शेयर कारोबार भएको छ । अपि पावरको २० करोड, शिवम् सिमेन्ट र एचआइडीसीएलको समान १६-१६ करोड रुपियाँको शेयर किनबेच हुँदा नेपाल पूर्वाधार बैंकको १४ करोड रुपियाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्