सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठानलाई सहयोग



काठमाडौ (नेस) ।

सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँचलाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको विद्यार्थीहरूबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपाली स्याट –२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ । सो टोलीलाई नेपालका पहिलो अन्तरिक्ष नेपाली सेट –१ को निर्माण÷प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले ड्रिम प्रोजेक्टको रूपमा नेतृत्व गर्दै आउनु भएको छ ।

कक्षा१० देखि १२ सम्मका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सन् २०२३ सम्म नेपाली सेट २ विद्यालय नामक स्याटलाइट निमार्णका लागि टिम निर्माण गर्नेछन् ।

जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली सेट–२ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण÷प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोगस्वरूप छात्रवृत्तिको प्रदान गरेको छ ।

देशभित्र विज्ञान तथा प्रविधिको अन्वेषण र विकासका लागि सहयोगस्वरूप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. मास्केलाई सो रकम उपलब्ध गराइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताउनुभयो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले काठमाडौं उपत्यका बाहिरका विपन्न तथा योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्