ठेगानाको सम्पूर्ण समाधान ‘कहाँ’ एपमा



काठमाडौं (नेस) ।

तपाइँ कुनै कुराको ठेगाना थाहा पाउन कहाँ भनेर प्रश्न गर्नुहुनेछ । स्थानबारे कुनै जानकारी छैन भने, वा कुनै ठाउँको बारेमा जानुकारी लिनु छ भने हामी कहाँ भनेर सोध्छौं । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय पुग्न तपाइँलाई सम्बन्धित व्यक्तिसँग सोध्नुपर्छ ।

अब तपाइँलाई कहाँ एपले तपाइँले खोज्नु भएको ठाउँबारे जानकारी दिने भएको छ । यो स्थानीयकण गरिएको एप हो । यसलाई प्रयोग गर्न निकै सजिलो रहेको कम्पनीले दावी गरेको छ । नेपाली भाषामा समेत उपलब्ध यस एपलाई आइतबार सार्वजनिक गरिएको छ ।

मेसोभिजन टेक्नोलोजीले विकास गरेको कहाँ एपले केही क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने भएको छ । प्रविधिको चरम विकास भएको अवस्थामा पनि नेपालमा ठेगानालाई डिजिटलाइज्ड गर्न सकिएको छैन । विदेशमा हेर्दा ठाउँको चिनारी दिन सडक, गल्ली, घरलाई कोड नम्बर दिएर नक्सामा समावेश गरिएको छ ।

कसैलाई घरमा बोलाउनु पर्याे भने पहिले त्यस व्यक्तिको लोकेसन सोधेर सवारी साधनमा फलानोे ठाउँमा झर्ने त्यहाँबाट दायाँ लाग्ने, यस्तो रंगको घर देखिन्छ, त्यसलाई छाडेर अर्काे गल्ली लाग्ने भन्दै धेरै ठाउँको अवस्था वर्णन गरेर बोलाउनु पर्ने अहिलेको अवस्था छ । अनलाइनबाट सामान किन्दा डेलिभरी गर्ने व्यक्तिलाई आफ्नो लोकेसन देखाउनु पर्ने अवस्था छ । यस्तो समस्यालाई समाधान गर्न कहाँ एप सार्वजनिक गरिएको यस एपको विकासकर्ता नारायणाबहादुर क्षेत्रीले बताउनुभयो ।

कहाँ एपमा व्यक्तिगत ठेगाना र आफ्नो व्यवसायलाई सूचीकृत गराउन सकिन्छ । आफ्नो व्यवसाय सूचीकृत गरेपछि यसमा व्यवसायको ठेगाना, तस्विर, उत्पादनलाई व्यक्ति स्वयंले एपमा राख्न सक्छन् । त्यसलाई अरू प्रयोगकर्तालाई बाँड्न सकिन्छ । यस एपलाई प्रयोगकर्ता मैत्री बनाइएको छ । यसमा सन्देश आदानप्रदानको सुविधासमेत उपलब्ध गराइएको छ ।

आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू रिपोर्ट गर्न एपलाई प्रयोग गर्न सकिने भएको छ । व्यक्तिगत प्रयोगकर्तालाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइनेछ । ती निजी हुने कम्पनीले जनाएको छ ।

कहाँ एपबाट आफ्नो ठेगाना नजिकै पाइने वस्तु तथा सेवाको जानकारीसमेत पाउन सकिन्छ । कहाँ एपले प्रदान गर्ने ट्यागहरूमार्फत नजिकका, पसल, ग्यास डिपो, बालुवा डिपो, ब्युटीपार्लर, बार्बर सप लगायतका स्थानहरू खोज्न सकिन्छ । यसमा होटेल, रिसोर्ट, गेस्टहाउस, विद्यालय, कलेज, शैक्षिक संस्थाजस्ता स्थायी ट्यागहरू त्यसमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्