मेगा बैंकले कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै



काठमाडौं, नेस । 

मेगा बैंक नेपालले कृषकलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । कृषकलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीब्रताका साथ विस्तार गरिरहेको हो ।

यसैक्रममा कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्न मेगा बैंकले ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौताअनुसार मेगा बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा शुरु गर्न लागेको तरकारी तथा फलफुल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ । यसका साथै सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेतालाई निःशुल्क क्यूआर कोडको व्यवस्था गरिनेछ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफुल खरिद गर्ने ग्राहकलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५ सय रुपिंयाँसम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा मेगा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गर्नुभयो । केही दिन अघि मात्रै मेगा बैंकले काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्