जीडीपीको हाराहारीमा शेयर बजारको पुँजी



नेपाल समाचारपत्र, काठमाडौं ।

दोहोरो अंकको वृद्धिसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार नेप्से १५ दशमलव ७२ अंकले बढेर २६७४ दशमलव ४६ बिन्दुमा पुगेको छ । यससँगै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ३६ खर्ब ९४ अर्ब ४२ करोड ७९ लाख रुपियाँको हाराहारीमा पुगेको छ । बजार पुँजीकरण देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को हाराहारी नजिक पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जीडीपी ३९ खर्बको हाराहारीमा रहेको छ ।

विज्ञहरूका अनुसार शेयर बजारको पुँजी जीडीपीको हाराहारीमा हुनु सकारात्मक रूपमा मानिन्छ । कुल २१३ कम्पनीको १ करोड ६१ लाखभन्दा बढी कित्ता शेयर ७ अर्ब ४७ करोड ७७ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । मंगलबारको कारोबारपछि यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ३४ बिन्दुले बढेर ४७६ दशमलव १८ मा पुगेको छ । कारोबार कुल १३ समूहमध्ये छ समूहको शेयर ओरालो लाग्दा सात समूहको शेयर भने उकालो लागेको छ । बैंकिङ समूह शून्य दशमलव ५९, व्यापार ४३२ दशमलव २५, वित्त समूह ३ दशमलव ३६, निर्जीवन बीमा समूह २८७ दशमलव ७६, अन्य समूह ३ दशमलव ९, जीवन बीमा समूह १९१ दशमलव ४२ अंकले ओरालो लागेको छ । त्यस्तै होटल तथा पर्यटन समूह २०५ दशमलव ७९, विकास बैंक समूह २९ दशमलव ९७, जलविद्युत् समूह ११४ दशमलव शून्य ५, उत्पादन समूह १८३ दशमलव ९१, लघुवित्त समूह ६४ दशमलव १९, सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य २ र लगानी २ दशमलव ७२ अंकले उकालो लागेको छ ।

मंगलबार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक अग्रस्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड ८० लाख ५७ हजार २३६ बराबरको कारोबार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी ३१ करोड १० लाख, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी २९ करोड २० लाख, हिमालयन डिस्टिलरी २२ करोड १८ लाख, हिमालयन जनरल इन्स्योरेन्स २१ करोड २८ लाख, नेपाल बैंक १७ करोड ६८ लाख, अजोड इन्स्योरेन्स कम्पनीको १६ करोड ६१ लाख, बुटवल पावर कम्पनीको १६ करोड दुई लाख, नेपाल दूरसञ्चार कम्पनीको १५ करोड २९ लाख र रसुवागढी हाइड्रोपावर १४ करोड ७८ लाख रुपियाँको कारोबार भएको छ ।

कारोबारका आधारमा चिलिमे जलविद्युत् कम्पनी, युनिभर्सल पावर युनाइटेड इदी मर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीका लगानीकर्ताले समान १० प्रतिशतले कमाएका छन् । वोमी माइक्रोफाइनान्स ९ दशमलव ९५, एनआईसी एसिया लघुवित्त ९ दशमलव ९३, महिला लघुवित्त ९ दशमलव ९३, साञ्जेन जलविद्युत् कम्पनी ९ दशमलव ८९, शिवश्री हाइड्रोपावर ९ दशमलव ८१ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतले कमाएका छन् ।यसैगरी साल्ट टे«डिङ कर्पोरेशनको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाउँदा सानिमा जनरल इन्स्योरेन्स ८ दशमलव ७८, अजोड इन्स्योरेन्स ८ दशमलव ७२, युनाइटेड फाइनान्स ५ दशमलव ९६, जनरल इन्स्योरेन्स ५ दशमलव १३, आइएमई जनरल इन्स्योरेन्स ४ दशमलव ३९, श्रीइन्भेस्टमेन्ट ३ दशमलव शून्य ९, प्रुडेन्सियल इन्स्योरेन्स २ दशमलव ९९, युनाइटेड इन्स्योरेन्स २ दशमलव ९४ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २ दशमलव ९१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्