रणनीतिक सडक निर्माण हुने



रसुवा, (नेस) ।

नेपाली कांग्रेसका सांसद मोहन आचार्यको पहलमा नुवाकोटको वेत्रावतीदेखि रसुवाको गोसाइँकुण्डसम्म रणनीतिक सडक निर्माण हुने भएको छ ।प्रतिनिधिसभा सदस्य आचार्यको पहलमा बेत्रावती–कालिकास्थान–स्याउबारी–लोकिल–वेताङ–आरुखर्क–लाङ्बु–थाङ्दोर–सिमबन्दी हुँदै गोसाइकुण्ड जाने सडक रणनीतिक सडक आयोजनामा समावेश भएको हो ।

सांसद आचार्यले २०७६ माघ १३ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई उक्त सडकलाई रणनीतिक सडक निर्माणका लागि पहल गर्न आग्रह गर्दै निवेदन दिनुभएको थियो । सोही पहलपछि यो आयोजना रणनीतिक सडकमा समावेश भएको हो ।‘समृद्ध रसुवा–सुखी रसुवाबासी’ निर्माणका लागि आफूले योगदान गरिरहने आचार्यले बताउनुभयो । आचार्यले २०७६ माघ २८ मा भौतिक पूर्वाधार तथा यातायात सचिवलाई पत्र लेख्दै कालिकास्थानको शहिद पार्क निर्माण, सातदोबाटो–ठूलोगाउँ–हाकु–गत्लाङ सडक तथा स्याउबारी–आरुखर्क हुँदै गोसाइकुण्ड सडकका लागि बजेट थप गर्न समेत संम्बन्धित निकायमा पत्राचार गर्नुभएको छ ।उता, बोगटीटार हुँदै नौकुण्ड जाने सडकमा केही समयअघि ४ वटा पक्की पुलको टेन्डर भइसकेको छ । ती पुलको निर्माण तोकिएको समयमै हुने सांसद आचार्यले जानकारी दिनुभयो ।

उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले जनप्रतिनिधिको जिम्मेवारी र कर्तव्य पूरा गर्ने सम्बन्धमा मोहन आचार्यको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो । रसुवामा पनि विकासमा पछाडि परेको नौकुण्ड गाउँपालिकामा ग्रामीण बस्ती हुँदै गोसाइँकुण्ड जाने मोटरबाटो बन्दा यस क्षेत्रको विकास र रसुवाकै विकासमा ठूलो योगदान पुग्ने स्थानीय जनप्रतिनिधि नौकुण्ड गाउँपालिका–६ का अध्यक्ष धर्म तामाङले बताउनुभयो ।

यो रणनीतिक सडकले यस क्षेत्रको जनजीवन सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय योगदान दिने हुँदा यस क्षेत्रको सामाजिक आर्थिक विकासमा समेत यसले सहयोग पु¥याउने स्थानीय वागेल थोक्राले बताउनुभयो । उक्त सडक निर्माणका लागि ६० करोड रुपियाँ बजेट विनियोजनसमेत भइसकेको भन्दै प्रदेश सभासद प्रेम तामाङले आचार्यको निरन्तरको प्रयासबाट यो सम्भव भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्