साना उद्यमीलाई विकास बैंकले सहज कर्जा दिने



काठमाडौं, (नेस)

नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमईजहरू) को वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकालले हस्ताक्षर गर्नुभयो । दुवै संस्थाबीच भएको समझदारीअनुसार एसोसिएसनका सदस्य विकास बैंकलाई लघु, घरेलु साना तथा मझौला उद्योगको मागअनुसार सरल एवम् सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिन कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमुलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने, उपयुक्त वित्तीय सेवाको छनोट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगलाई प्रवाह गरिने कर्जालाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाइने भएको छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष श्रेष्ठले एसएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमईजहरूकै भएकाले यो समझदारीले एसमएमईजहरू फस्टाउन विशेष सहयोग पुग्ने बताउनुभयो । महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने र यो सहकार्य मुलुकभित्र एसएमईजको विकासमा कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतका सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र महासंघबीचको सहकार्यलाई परिणाममुखी बनाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्