शेयर बजार ऐतिहासिक बिन्दुमा



नेपाल समाचारपत्र, काठमाडौं

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ऐतिहासिक बिन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक २५ दशमलव ७१ अंकले बढेर २६५७ दशमलव ६१ बिन्दुमा पुगेको छ । यो हालसम्मको उच्च बिन्दु हो । यसअघि नेप्सेले गत फागुन ९ गते रेकर्ड बनाएको थियो । सो दिन नेप्से २६४० दशमलव ३५ बिन्दुमा पुगेको थियो।

पछिल्ला दिनमा शेयर बजारप्रति लगानीकर्ताको आत्म विश्वास बढ्दै गएको छ । बीचमा केही दिन लगानीकर्ताले आत्मविश्वास गुमाउँदा बजार केही दिन धरमराएको थियो । तर, आत्मविश्वास बढेकाले बजार सुधारिएको छ । बजार वृद्धि हुँदै जाँदा समग्र बजार पुँजीकरणको स्थिति देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कोे वरिपरी रहेको छ । यस दिन २१२ वटा कम्पनीको ९ अर्ब ६८ लाख ५८ हजारबराबरको १ करोड ८१ लाख ७३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । यसअघि गत फागुन ४ गते १० अर्ब ३ करोड ५४ लाखभन्दा बढीको शेयर कारोबार भएको थियो ।आइतबार कारोबारमा आएका १३ समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३ दशमलव ९७ प्रतिशत बढेको छ। वित्त समूहको ३ दशमलव ६६ प्रतिशत, अन्यको ३ दशमलव ४१ प्रतिशत र जलविद्युत् समूहको १ दशमलव ५ प्रतिशत बढेको छ।

कारोबारमा आएको व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक ४ दशमलव ३९ प्रतिशत घटेको छ भने लगानी समूहको २ दशमलव ४६ प्रतिशत घटेको छ । त्यस्तै होटल तथा पर्यटन समूहको शून्य दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १५ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव ८६ प्रतिशत परिसूचक घटेको छ ।यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआईसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युत्को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव ६३ प्रतिशत घटेको छ। सर्पोट माइक्रोफाइनान्स र एचआईडीसीएलको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक अगाडि रहेको छ। सो बैंकको यस दिन ४६ करोड ८१ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ। साथै अपर तामाकोसी, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रुडेन्सियल इस्न्योरेन्स, नेपाल बैंक र एनएलजी इन्स्योरेन्सको २० करोड रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्