व्यवसायीको चुनाबमा दलीय गन्ध



नेपाल समाचारपत्र, हेटौंडा

प्रधानमन्त्री केपी शर्माओलीको हातबाट सदस्यता ग्रहण गरेपछि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिएर कांग्रेसबीच मकवानपुर उद्योग वाणिज्य महासंघमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

संघका वर्तमान उपाध्यक्ष कृष्ण गुप्ता अग्रवाल संघका अध्यक्ष कृष्ण कटुवाल र महासचिव प्रमोदसिंह रानाभाटसँगै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वर्तमान अध्यक्ष कटुवाललगायतले अध्यक्षमा अग्रवाललाई समर्थन गर्दै नेपाली कांग्रेस प्रवेश गर्नुभएको हो ।नयाँ नेतृत्व चयन हुने निर्वाचनको लागि वैशाख १८ का लागि तोकिएको बेला निर्वाचनमा अध्यक्ष उमेदवारी घोषणा गर्नुभएका अग्रवाल प्रतिस्पर्धी मानिनुभएका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने नेकपामा प्रवेश गरेको प्रत्युत्तरमा विपक्षी दलको शरणमा पुग्नुभएको हो । अध्यक्ष कटुवाल, उपाध्यक्ष अग्रवाल र महासचिव रानाभाट कांग्रेस प्रवेश गरेपछि व्यवसायीको निर्वाचनमा प्रष्टरुपमा राजनीतिक गन्ध देखिएको छ । यसअघि संघले चैत २१ गते वार्षिकसभा र २३ गते निर्वाचन कार्यक्रम तय गरेको थियो ।

तर, कोरोना संक्रमणको जोखिमको कारण देखाउँदै निर्वाचन रोकिएको थियो । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासीमा न्यौपाने, पूर्वमहासचिव महेन्द्र राउत र अग्रवाल हुनुहुन्छ । राउत नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य हुनुहुन्छ भने अग्रवाल बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेपछि निर्वाचनमा उहाँहरु सबै उम्मेदवार भए नेकपा एमाले समर्थक न्यौपानेविरुद्ध कांग्रेस समर्थककै घम्साघम्सी हुनेछ ।संघ अध्यक्षमा संघ वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने पनि दाबेदार हुनुहुन्छ । उहाँ पनि कांग्रेसनिकट हुनुहुन्छ । यसरी हेर्दा उहाँहरु सबै अध्यक्ष उमेदवार भए एमाले समर्थक एक उम्मेदवारविरुद्ध कांग्रेस समर्थक उम्मेदवार ३ जना हुनेछन् । उद्योग वाणिज्य संघको अध्यक्ष उम्मेदवार राउत उद्योग वाणिज्य संघ गलत प्रवृत्तिमा परेको बताउनुहुन्छ । यतिका समय हेरेर बस्ने अनि निर्वाचन आउनै लाग्दा पार्टी प्रवेश गर्न केन्द्रमा धाउने कारण उद्योग वाणिज्य संघको इज्जत गएको उहाँको टिप्पणी छ ।

‘पदको लालचमा पार्टी प्रवेश गर्नेदेखि मलाई डर छैन,’ उहाँले भन्नुभयो–‘म विद्यार्थीकालदेखि नै कांग्रेसमा छु । अरुजस्तो नयाँ सदस्य होइन । पार्टीकै साथका कारण मैले अध्यक्षमा उम्मेदवारी दिने भएको हुँ । पछि पार्टी सदस्यता लिएर आउनेलाई हेरेर कुनै हालतमा निर्वाचनमा नजाने भन्ने हुँदैन ।‘कांग्रेस हो भन्दैमा कुनै हालतमा अग्रवालका लागि म पछि हट्न सक्दिन,’ राउतले भन्नुभयो । अध्यक्ष उम्मेदवार अग्रवाल नेपाली कांग्रेसमा प्रवेश गरेपछि राउत र अग्रवाल मिलेर जालान् भन्ने धेरैको आँकलन छ । तर, राउतका अनुसार निर्वाचन समीकरण मिल्ने अवस्था छैन ।निर्वाचनको मिति अनिश्चित समयका लागि स्थगित गरिनु र कांग्रेसमा प्रवेश गरेपछिमात्र मिति निर्धारण गर्नुमा मकवानपुरका केही व्यवसायी मतदाताले आक्रोश व्यक्त गरेका छन् भने कोही अलमलमा रहेको प्रतिक्रिया दिएका छन् ।

मिति तय भएसँगै चुनाबी सरगर्मी बढेको छ । व्यावसायिक हितका एजेन्डा बोकेर व्यवसायीका नेता निर्वाचनका लागि दौडधुपमा छन् । तीन वर्ष अघि भएको उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षमा कटुवाल विजयी हुँदा उहाँले निकटतम् प्रतिस्पर्धी राउतलाई १ सय ९५ मतान्तरले पराजित गर्नुभएको थियो । संघमा करिब ३ हजार मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्