विद्युत् सर्टमा छानबिन समिति



डोटी, (नेस) 
डोटीको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौमा विद्युत् लाइन सर्ट हुँदा करेन्ट लागेको घटनाका विषयमा छानबिन तथा मुचुल्का तयार गर्नका लागि जिल्ला प्रशासनको आदेशमा एक टोली खटाइएको छ । विद्युत् सर्ट हुनुका कारण र भएको क्षतिका बारेमा छानबिन तथा घटनाको यथार्थ विवरण बुझ्नका लागि प्रहरी, प्रशासनका कर्मचारीसहितको टोली बुधबार बिहान घटना स्थलतर्फ पठाइएको हो ।

मंगलबार दिउँसो करिब ३.३० बजेको समयमा विद्युत्को भोल्टेजमा आएको गडबढीका कारण विद्युत् तार सट भई करेन्ट लागेर चार जना घाइते हुनुका साथै एक घर र एक गोठमा आगलागी भएको थियो । उक्त दुर्घटनामा परी स्थानीय रत्ना विक, पार्वती बोगटी, सरस्वती बोगटी गम्भीर घाइते भएको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल र एक जनाको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको छ ।

विद्युतको तार लच्किएको र सो तार मर्मत गर्न गाउँ पुगेका विद्युत् कर्मचारीले ट्रान्फर्मरबाट डाइरेक्ट लाइन छोडेका कारण दुर्घटना भएको स्थानीयबासीको आरोप छ ।यसै गरी, आगलागीका कारण स्थानीय चक्र बोगटीको घरमा रहेका लुगाकपडा र खाद्यान्न जलेर नष्ट भएका छन् भने धर्म बोगटीको घर जलेर पूर्णरूपमा नष्ट भएको छ । करेन्ट लागेर घाइते भएकाहरुको अवस्थामा क्रमिकरूपमा सुधार आउन थालेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्