भन्सार जाँचपासमा धान भएको ट्रकबाट करोडौंको कपडा बरामद



नेपाल समाचारपत्र, वीरगन्ज । 

यल्लो समूहको नाममा भन्सार पास गराई वीरगन्जको एकीकृत भन्सार जाँच चौकीबाट धान लोड गरी छुटेको भारतीय नम्बरको ट्रकमा एक करोड ५ लाखको अवैध कपडा फेला परेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले नियन्त्रणमा लिएको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकमा अवैध कपडा फेला परेको हो।

नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी आइसिपी  बाट सो ट्रक ‘यल्लो समूह’ मा भन्सार पास गराई बाहिरिएको थियो। मंगलबार नै सशस्त्र प्रहरीले राजश्व अनुसन्धानमा बुझाएको सो ट्रक बुधबार चेकजाँच गर्दा उक्त परिणाम फेला परेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो ।अवैध रुपमा फेला परेका सटिङ सुटिङ, कुर्ता सुरुवाललगायत कपडा भएका खड्काले बताउनुभयो । आइसिपीबाट छुटेको सो ट्रक तिरुपती खाद्य तथा भुसा सप्लायर्सको नामले छुटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। धान भने जम्मा ३ लाखको मात्र फेला परेको छ ।

ट्रक ३० लाख, कपडा १ करोड ५ लाख गरी कुल १ करोड ३८ लाखको प्रतिवेदन तयार भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको छ।कोरोनाको कहर केही कम हुनासाथ नेपाली आयातकर्ताले बढी मालबस्तु आयात गर्न थालेका छन्। बढी मालबस्तु भन्सारबाट भित्रिँदा लक्षित राजश्व पनि पूरा हुँदै जान थालेको छ।लक्ष्य पूरा भएको उन्मादमा भन्सारका केही कर्मचारीले आफूअनुकूल पनि राजश्व संकलन गर्न खोज्दा उचित चेकजाँच नपुगेको भन्सारमा कार्यरत निजी कम्पनीका केही कर्मचारीले आरोप लगाए।यसै क्रममा उक्त ट्रकमा पनि वीरगन्ज भन्सार कार्यालयको चेकजाँच नपुगेको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्