ग्लोबल आइएमई बैंक ७६औं जिल्लामा पुग्यो



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुआतसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ ।

ग्लोबल आइएमई बैंकले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सयभन्दा बढी सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।त्यस्तै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

यसैबीच बैंकले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५६ पुगेको छ । बैंकले सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गर्नुभएको छ । उक्त शाखारहित बैंकिङ सेवाका लागि बैंकको प्रतिनिधिमा मानकुमार श्रेष्ठलाई नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्नेलगायतका सेवा लिन सक्नेछन् ।

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्