साताभर घटेको शेयर बजारमा झण्डै ७० अर्बको नोक्सान



नेपाल समाचारपत्र, काठमाडौं ।

यो साता शेयर लगानीकर्ताका निम्ति यति सुखद् रहेन । दुई दिन सार्वजनिक बिदा परेकाले तीन दिनमात्रै खुलेको शेयर बजार सबै दिन घटेर कारोबार भयो । तीन दिनको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८ दशमलव २ अंकले घटेको छ । साताको पहिलो दिन २१ दशमलव ५८ अंक, दोस्रो दिन २३ दशमलव २२ अंक र तेस्रो दिन ३ दशमलव ४० अंक नेप्से परिसूचक घटेको हो ।

यससँग नेप्से परिसूचक २४५८ दशमलव ४८ बिन्दुमा झरेको छ । यो साता कारोबार रकम पनि न्यून नै छ । तीन दिनमा जम्मा १३ अर्ब ८५ करोड ८५ लाख रुपियाँको शेयर किनबेच भएको छ । अघिल्लो साता पाँचै दिन कारोबार हुँदा ६८ अर्ब ९७ करोड ७४ लाख रुपियाँको शेयर किनबेच भएको थियो । परिसूचक घटेसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण ३३ खर्ब ८७ अर्ब ३३ करोड ५० लाख रुपियाँको हाराहारीमा झरेको छ । शेयर बजारको कुल बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को हाराहारी अर्थात ३६ खर्ब ३८ अर्ब २७ करोड ८० लाखसम्म पुगेर ओरालो लाग्दै आएको छ । अहिले जीडीपी ३९ खर्ब रुपियाँको हाराहारीमा रहेको केन्द्रीय तथ्यांक विभागको आँकडा छ । शेयर बजारको कुल पुँजीकरण जीडीपीकै हाराहारीमा घुम्नुलाई शेयर बजारमा राम्रो मानिने विश्लेषकहरूको भनाइ छ ।

पछिल्लो समयमा लगानीकर्ताहरू हल्लाको पछाडि लाग्दा कुनै खास कारण नहुँदा पनि नेप्सेमा गिरावट हुँदै गएको छ । जसका कारण दुई साताभन्दा बढीको अवधिमा लगानीकर्ताको कुल सम्पत्ति करिब ३ खर्ब रुपियाँले घटेको छ । पछिल्लो एक सातामा मात्रै झण्डै ७० अर्ब रुपियाँ लगानीकर्तालाई नोक्सान भएको छ । अघिल्लो साता कुल बजार पुँजीकरण ३४ खर्ब ५३ अर्ब ७४ करोड ३० लाख रुपियाँको हाराहारीमा रहेको थियो । तीव्र गतिमा बढेको बजारमा खास कारण बिनानै ओरालो लाग्नुलाई कतिपयले बजार सुधारको लयमा गएको विश्लेषण गरे पनि अझै बाणिज्य बैंकहरूको शेयर मूल्य बास्तविकभन्दा कम नै रहेको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्