‘मेक इन नेपाल अभियान’ शुरू, स्वदेशी उत्पादनको प्रवर्धन गरिने



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री ओलीले स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले स्वदेशी वस्तु तथा सेवा प्रवद्र्ध्नका लागि सञ्चालन गरेको ‘मेक इन नेपाल अभियान’ सोमबार शुरूआत गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मेक इन नेपालपछि मेड इन नेपाल अभियान शुरू गर्नुपर्ने धारणा राख्दै विदेशवाट अत्यावश्यक वस्तुको मात्रै आयात गर्नुपर्ने धारणा राख्नुभएको छ । रेमिट्यान्सबाट आएको पैसाले सुपरमार्केटमा गएर विदेशी वस्तुको ‘सपिङ’ गर्ने बानी हटाउनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गर्नुपर्ने काम उद्योगी गरेको भन्दै जनताको आवश्यकता नेपालबाटै उपलब्ध हुनुपर्ने र नेपाली सामानको गुणस्तरलाई उच्चस्तरबो बनाउँदै प्रयोग गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ भन्नुभयो । सरकारले पूर्वाधारको विकास गरेकाले परिसंघले अभियान शुरू गर्न सकेको दाबी गर्दै ओलीले देशको कुना काप्चासम्म सरकारले सडक पूर्वाधार विकास गरेकाले परिसंघको अभियान सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशभरी नै औद्योगिक क्षेत्रको विकास गरेकोले उद्योगीलाई जग्गामा समस्या नहुने बताउनुभयो । उहाँका अनुसार देशका विभिन्न स्थानमा २१ सय विघासम्मको क्षेत्रफलमा औद्योगिक क्षेत्रको विकास गर्ने तयारी सरकारले छ। त्यस्तै परिसंघका अध्यक्ष सतिशकुमार मोरले अब देशभित्रको उत्पादनलाई नै प्राथमिकता दिन अभियान शुरू गरिएको धारणा राख्नुभयो । उहाँले सधैं आयातित वस्तुको प्रयोगले नेपालको दिगो आर्थिक विकासमा टेवा नदिने भन्दै सबै पक्षले नेपालमा उत्पादित सामग्रीको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो। परिसंघका आर्थिक सल्लाहकार डा. विश्व पौडेलले दिगो आर्थिक विकासको लागि आवश्यक आधार प्रस्तुत गर्दै पछिल्लो १० वर्षमा देशको आर्थिक अवस्थामा निकै उतार चढाव आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्