हाम्रो नगरपालिकामा भिजनको कमी



संसारमा प्रायः मानिसहरु भगवान्प्रति आश्रित हुन्छन् । राम्रो कर्ममा विश्वास गर्नु नै मानिसहरुको सफल जिन्दगी हो, बाँकी भगवान्ले हेर्ने त छँदै छ । तर अहिले मानिसहरुमा गलत कर्म गरेर धन आर्जन हुन्छ भने राम्रो कर्म किन गर्ने भन्ने संस्कारको विकास भएको छ । यो गलत धारणा हो । मानिसले बाँचुन्जेल व्यक्ति, समाज, राष्ट्रको हितका लागि केही एड्भेन्चर गर्नु भगवान्सरह हुन जान्छ । जनतासँग कर लिने आफ्नो ठाउँमा छ, विकास आफ्नो ठाउँमा छ । अहिले मुलुकमा नगरपालिकाहरुले आफ्नो हिसाबले काम गरिराखेका छन् । यसलाई सराहनीय मान्नुपर्दछ । तर यो देशमा गर्नुपर्ने कामहरु अरु पनि धेरै छन्, जुन हुन सकिराखेको छैन । यसका लागि ठूलो सोच, मन, भिजन, विज्ञहरुको राय–सुझाव आदिको खाँचो पर्दछ, जुन नगरपालिकाहरुको दिमागमा घुसिराखेको छैन । प्रयास गरौं, संसारमा असम्भव भन्ने कुनै कुरा छैन । खाली व्यक्तिहरुले धेरै धनको तृष्णालाई तिरस्कार गर्न सक्नुपर्दछ ।

सर्वप्रथम फोहोरमैलाको कुरा गर्ने हो भने, अहिले आएर नगरपालिकाहरुले आफ्नो क्षेत्रबाट भरपूर काम गरिराखेका छन् । यो सोच नगरपालिकाहरुको हो तर समाजको नजरबाट हेर्ने हो भने यिनीहरुको कार्यविधि अपरिहार्य छैन । कारण कसरी नगरहरु सफा गर्ने भनेर यी कार्यालयहरुले समाजलाई शिक्षा दिन सकिराखेका छैनन् । नगरपालिकाहरुले काम गरिराखेका छन् तर सफल हुन सकिराखेका छैनन् । यसको खास कारण अटेरी, जथाभावी फोहोर गर्ने व्यक्तिहरुलाई जरिबाना गर्न नसक्नु, म्यानपावर नपुग्नु, फोहोरसम्बन्धी निःशुल्क शिक्षा दिन नसक्नु आदि कारण नै हुन् ।यसबाहेक एक–दुई ठाउँमा दीर्घकालीन ल्यान्डफिल्डको व्यवस्थापन गर्न नसक्नु, फोहोरलाई डोजरले सम्म गर्न नसक्नु तथा फोहोरबाट कम्पोस्ट मलमा परिणत गर्न नसक्नु हो । सुन्नमा आउँछ, प्राइभेट सेक्टरबाट फोहोरमैला समाधानका लागि अगाडि बढ्नेहरु धेरै छन्, तर यो विधि पनि सफल हुन सकिराखेको छैन । यसमा वर्तमान सरकार, नगरपालिका, सम्बन्धित निकाय कसको दोष हो ? त्यो बुझ्न गाह्रो भएको छ । प्रयास गरौं, सबैतर्फबाट बिस्तारै यो समस्याको समाधान गर्न जरुरी छ ।

यो मुलुकमा जीवहरुको निर्मम हत्या हुन्छ । ती प्राणीहरुको मासु हाम्रो पेटमा जान्छ । हुन त एक हिसाबले कुनै पनि प्राणीको मासु खानु राम्रो कुरा होइन, तर भनेर के गर्ने ? हामीलाई जन्मैदेखि आमाबाबुले भनौं या प्रकृतिले भनौं, आदत बसाएर मासु खान बाध्य बनाइराखेका छन् । तैपनि अबको चाहना, कुनै पनि प्राणीले छटपटिएर मर्न नपरोस् । यसको लागि सरकार तथा सम्बन्धित निकायहरुले वधशालाहरुको विकास गरी दिनुपर्दछ । यसले गर्दा जीवहरुको हत्या सजिलै चालै नपाई हुन्छ ।अहिले देशमा भुस्याहा कुकुरको समस्या पनि एउटा ठूलो समस्या भएको छ । यसलाई पहिलादेखि नै निरन्तर निर्मूल गर्नुपर्ने थियो तर अहिले यस्ता कुकुरको संख्यामा वृद्धि भएको छ । एक हिसाबले यस्ता कुकुरप्रति मानिसको निकै माया बढेको छ भने अर्कोतर्फ कुकुरले मानिसलाई टोकेर हैरान बनाएको छ । अब यसको समाधान गर्ने कि नगर्ने ? समाजले फैसला गर्नुप¥यो या नगरपालिकाहरुले निर्णय लिनुप¥यो ।अहिले राजधानीको बढ्दो जनसंख्या तथा बटुवाहरु धेरै भएको कारणले गर्दा अझै पनि बाटो काट्नेहरुका लागि क्रसिङ ब्रिजहरुको कमी महसुस समाजले गरेका छन् । कालिमाटी, लगनखेल, थापाथली, बानेश्वर, बालाजु, चाबहिल आदि ठाउँमा क्रसिङ ब्रिजको कमी छ । यसबाहेक एउटा राम्रो डिजाइनको फ्लाइङ ओभर ब्रिज माइतीघर मण्डलामा निर्माण हुनु जरुरी देखिएको छ ।

हाम्रो देश लोकतन्त्रात्मक मुलुक हो । सरकार दशतिरबाट जनतामार्फत कर असुल गरिराखेको हुन्छ । यसको बदलामा जनताले पाउनुपर्ने सहुलियत, सुविधा आदि कुरा पाइराखेका छैनन् । उदाहरणका लागि राजधानीजस्तो ठाउँमा पर्याप्त निःशुल्क पार्कहरु छैनन् । भएका केही पार्कहरुमा ताला लगाएको हुन्छ या सशुल्क पार्कहरु मात्र छन् । बढ्दो जनसंख्याले गर्द मानिसहरु सस्तो मनोरञ्जन लिने अथवा फुर्सदमा केही विश्राम गर्ने स्थान नभएर उकुसमुकुस भएका छन् । तर नगरपालिकाहरुलाई मतलब छैन ।बास्तवमा अहिलेको घडीमा रत्नपार्क, भूगोलपार्क, शहीद पार्क, रानीपोखरी आदिलाई निःशुल्करुपमा जनताका लागि खोलिदिनुपर्दछ । यसमा मन र सोच नगरपालिकाको सानो छ, त्यसैले पार्कहरुलाई व्यवस्थापन गरी सरसफाइ, कडाइ, जरिबाना आदि कुरा अपनाएर पार्कहरु खुला गरिदिनुपर्दछ । मेयरज्यू, उपमेयरज्यूहरु, हामी कुन जमाना र कुन दुनियाँमा जीवन बिताइराखेका छौं ? धरहरा, पुतलीसडकमा सिंहदरबारको खालि जग्गा, नारायणहिटीका केही जग्गा पनि पब्लिक पार्कहरु बनाउनका लागि सरकारले पहल गर्नुपर्दछ ।

यहाँका सरकारहरु भाषण गर्दा नखरा गरेर जनता भन्ने गर्दछन् । के हामी धुपौरे जनता भयौं भन्दैमा आफ्नो विलासितामा मात्र सरकार अघि बढिराख्ने ? के यी कुराले सरकारलाई शोभा दिन्छ ? सरकारले चाह्यो भने के हुँदैन ? तर सरकारहरु गर्दैनन् । निःशुल्क शौचालयहरुको पनि निकै कमी छ, भएका शौचालयहरु निःशुल्क हुनुपर्दछ । शौचालयको पहरेदारलाई तलब दिएर राख्नुपर्दछ भने निरन्तर सफाइ भइराख्नुपर्दछ । कमसेकम जनताका लागि यति काम त नगरपालिकाबाट गर्नुस् ।अहिले राजधानीमा फुटपाथ समस्या, चिल्ड्रेन पार्क, तरकारी बजार आदिका लागि ठाउँहरुको समस्या छ । यसका लागि पनि नगरपालिकाहरुले विचार पु¥याउनु उति नै जरुरी छ । यी कुराहरुका लागि नगरपालिकाहरुले टेन्सन र समस्या बोक्नुभन्दा तातिनुपर्दछ ।
देशमा समस्याहरु सधैँ प्रायः उस्तै छन् । विकास भएजस्तो देखिए पनि यस्ता समस्यामा जिउने हामी नेपालीको बानी नै भइसक्यो । तैपनि राम्रा–राम्रा व्यक्तिहरु अझै जिउँदै छन्, बाँचुन्जेल यिनीहरुले देशका समस्या चाहे कानुन होस्, चाहे त्यो शिक्षा होस्, चाहे स्वास्थ्य होस्, चाहे राजमार्ग होस्, चाहे मनोरञ्जन होस्, चाहे पानी आदि कुराहरुका लागि म एउटा मुलुकको लागि एड्भेन्चर गर्छु भन्ने व्यक्तिहरु अग्रसर हुनु जरुरी छ । अनि हेर्नुस् मुलुकको द्रुत विकास ।

हाम्रो मुलुकमा समाजले राज्य र सरकारलाई गाली गरे पनि यिनीहरुले वृद्धवृद्धाका लागि गाँस–बासका हिसाबले केही गरेका छन् भनेर मान्नुपर्दछ, तर अझै पनि यहाँ अपांग, असहाय बालक तथा महिला, जँड्याहा, बहुलाहरुजस्ता प्राणीहरुको समाधान हुनु पनि जरुरी छ । सरकार, सम्बन्धित निकाय र नगरपालिकाहरुले यसतर्फ ध्यान दिनु जरुरी छ ।
– रमेश केशरी वैद्य

प्रतिक्रिया दिनुहोस्