प्रधानमन्त्रीद्वारा नेपालकै दोश्रो ठूलो विद्युत सव स्टेशन तथा प्रसारण लाइनको समुद्घाटन



न्युज अफ नेपाल, पर्वत । 

राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजना अन्तर्गत निर्माण भएका नेपालकै दोश्रो ठूलो सव स्टेशन तथा प्रसारण लाइनको विहिबारदेखि शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट २२०/१३२ केभी क्षमताको कुश्मा सव स्टेश, २२० केभी कुश्मा दाना प्रसारण लाइन र २२०/१३२/३३ केभी दाना सवस्टेशनको समुद्घाटन गर्नुभएको हो ।

विहिबार पर्वत स्थित कुश्मा नगरपालिका २ खुर्कोटमा उपस्थित भएर प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएपनि अन्ततः उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सव स्टेशन तथा प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुने चरणमा रहेको बताउनुभयो । उहाँले आफु प्रधानमन्त्री भएपछि मुलुकमा लोडसेडिङको अन्त्य हुने भनेर घोषणा गर्दा हाँसो ठट्टा गर्नेहरु अहिले उज्यालो नेपाल संगै समृद्धि मौलाएको देखेर अचम्मित भएको बताउनुभयो ।

कार्यक्रममा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मुलुक विद्युत उत्पादनका क्षेत्रबाट फड्को मार्ने गरी अघि बढेको बताउनुभयो । उहाँले विद्युत उत्पादन सँगै निर्यात समेत गर्ने योजनामा रहेको र आगामी २० बर्षमा ४२ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा मन्त्री रायमाझीले ताजा जनादेशले मात्रै मुलुकको राजनीतिक अस्थिरता अन्त्य हुने दावी गर्नुभयो । उहाँले मुलुकको समृद्धिलाई उचाइमा पुर्‍याउन संसद विघटन गरेर चुनाव घोषणा गरिएको र निर्वाचनको विकल्प नभएको उहाँको भनाइ थियो ।

नेपालकै दोश्रो ठूला विद्युत सवस्टेशन तथा प्रसारण लाइनका रुपमा रहेको उक्त आयोजना करिब एक महिना अघि देखि परिक्षण प्रसारणका रुपमा सञ्चालनमा आएको थियो ।

पर्वतको खुर्कोट देखि म्याग्दीको दानामा दुई सबस्टेशन तथा त्यसबीचमा ११० टावर निर्माण गरी ३९ दशमलव छ किलोमिटर लामो तार टाँगिएको छ । एशियाली विकास बैंकको ३ अर्ब ऋण सहयोग तथा नेपाल सरकारको झण्डै ८० करोडको लागतमा खुर्कोट–दाना खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले बताउनुभयो ।

कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सम्झौता भई आव २०७५/७६ मा निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्