डिजिटल भन्सार प्रशासनमा जोड

0
Shares

काठमाडौं, (नेस)

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार नेपाल उद्योग परिसंघमा आयोजित अन्तक्र्रियामा भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको, प्रविधिमा आधारित मूल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको र छिट्टै डिजिटल भुक्तानीका लागि काम अघि बढेको जानकारी गराउनुभयो ।

महानिर्देशक दाहालले विभागले अघि बढाएका कामले समग्र व्यापार तथा राजस्व प्रणालीमै सुधार देखिएको समेत उल्लेख गर्नुभयो । भन्सार एजेन्टको संख्या थप्न आवश्यक तयारी भइसकेको र यसलाई छिट्टै पूर्णत दिइने पनि महानिर्देशक दाहालले जानकारी दिनुभयो । भन्सार पूर्वाधार तथा नाकाहरुमा बन्दै गरेका एकीकृत चेक पोष्टको सुधारमा सहकार्य तथा समन्वय आवश्यक रहेको भन्दै उहाँले सहकार्यका लागि आग्रहसमेत गर्नु भयो ।

अन्तक्र्रियामा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पूर्वाधार तथा सेवामा भइरहेको सुधार स्वागतयोग्य रहेको बताउनुभयो । करिब २५ वर्ष यतादेखि भन्सार एजेन्ट थप नभएकाले इजाजतपत्र तत्काल खुल्ला गरी एजेन्टको संख्या बढाउन पनि अग्रवालले आग्रह गर्नुभयो ।

यस्तै डिजिटल भन्सार प्रशासनको माग दोहो¥याउँदै व्यवहारमा नै कागजातविहीन जाँचपास र डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगी व्यवसायीलाई झन्झट बिनाको जाँचपासको परिपाटी अवलम्बन पनि अग्रवालले आग्रह गर्नुभयो ।

त्यस्तै भन्सारमा मूल्यांकन गर्दा अझै पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा कृत्रिम सन्दर्भ मूल्यलाई आधार मानेर गर्ने गरिएकाले मूल्यांकनको यथार्थपरक डेटावेस निर्माण गरी पारदर्शी र अनुमानयोग्य मूल्याङ्कन प्रणालीको स्थापना गर्न सकेमा भन्सारको छवि सुधार हुनेतर्फ पनि अग्रवालले ध्यानाकर्षण गराउनुभयो ।

भन्सार पूर्वाधारहरु नयाँ बने पनि नयाँ पूर्वाधारमा कार्गाे पार्किङ यार्ड तथा डर्टी कार्गाे व्यवस्थापन गर्ने स्थान उपलब्ध नभएकाले नयाँ बन्ने भैरहवा, नेपालगन्ज, उत्तरी सीमा तथा काठमाडांै चोभारको व्यापार सहजीकरणअनुकूल सुविधा सम्पन्न पूर्वाधारको शीघ्र निर्माणका लागि अग्रवालले आग्रह गर्नुभयो ।

कार्यक्रममा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले व्यापार प्रवद्र्धनका लागि नेपाल ट्रेड इन्फरमेसन पोर्टल शुरू गर्न लागेको जानकारी गराउँदै थप सहकार्यका लागि निजीलाई आग्रह गर्नुभयो । कार्यकारी निर्देशक राणाले नेपालमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना गर्नेतर्फ काम अघि बढाउन परिसंघसँग सहकार्यको प्रतिबद्धता पनि जनाउनुभयो । केन्द्रका उपनिर्देशक राजेन्द्रमान सिंहले उत्पत्तिको प्रमाण पत्र जारी गर्ने नयाँ कार्यविधि, जीएसपी तथा रेक्स प्रणालीका बारेमा प्राविधिक जानकारी समेटेर प्रस्तुतिकरण गर्नुभयो ।

Skip This