सरकार आर्थिक समस्यामा : अर्थमन्त्री



बुटवल, (नेस)

सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले सरकार चरम आर्थिक समस्यामा परेको खुलासा गर्नुभयो । तिलोत्तमा चेम्बर अफ कमर्स रुपन्देहीको छैठौ र सातौ वार्षिक साधारण सभामा बुधबार बोल्दै अर्थमन्त्री पौडेलले सरकार आर्थिक समस्यामा रहेको सार्वजनिक गर्नु भएको हो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले विकास निर्माणका काममा बजेट अभाव भने हुन नदिने दाबी गर्नुभयो । उहाँले व्यवसायीका समस्या सरकारले बुझेको छ तर सरकारले छोटो सिरक ओढ्नु परेको बाध्यतालाई व्यवसायीले बझिदिन आग्रह गर्दै जाडोमा डल्लो परेर सुत्न आह्वानसमेत गर्नुभयो ।

उहाँले निजी क्षेत्रको समस्या सरकारले बुझेकाले छलफल गरी अगाडि बढन सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो । अर्थमन्त्री पौडेलले कोभिडले गर्दा प्रधानमन्त्री ओलीले अगाडि सार्नु भएको र देख्नु भएको सपना समृद्ध नेपाल सुखी नेपाली जनताको नारा सार्थक हुनमा कठिन भएको भन्दै देश बनाउनेले पहिला सपना देख्न जरुरी रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले कोभिडका कारण मुलुकले लिएका राजस्वका लक्ष्य पूरा हुन नसक्दा समस्या भएको स्पष्ट पार्नुभयो ।कार्यक्रममा उद्योगी व्यवसायीले कोभिडले पारेको समस्या र व्यवसायीले भोग्नु परेको आर्थिक कठिनाईमा सरकारले व्यवसायीलाई राहात तथा सहुलियत दिन नसकेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्