नागरिक स्टक डिलरलाई शेयर कारोबार गर्न अनुमति



काठमाडौं, (नेस)

नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरलाई धितोपत्र कारोबारका निम्ति अनुमति दिएको छ । नागरिक स्टक डिलर, नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापित तथा सञ्चालित स्वायत्त संस्था हो ।

नागरिक स्टक डिलरको चुक्ता पुँजी ५ अर्ब रुपियाँ रहेको छ । यस कम्पनीमा कोषको ५१ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । पुँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन नागरिक स्टक डिलरलाई धितोपत्र व्यापारीको काम गर्न अनुमति दिइएको बोर्डले जनाएको छ ।

नेपालको पुँजीबजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजीबजारमा गतिशीलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको विश्वास छ ।

बोर्डले पुँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न धितोपत्र व्यवसायी नियमावली,२०६४ मा संशोधन गरेको थियो । नागरिक स्टक डिलरले अब ब्रोकरबिना नै शेयर किनबेच गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्