सुनमा कोटा प्रणाली खारेज गर्न व्यवसायीको जोड



नेपाल समाचारपत्र, ललितपुर ।

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न सुनचाँदी व्यवसायीहरूले माग गरेका छन् । ललितपुर सुनचाँदी व्यवसायी संघको शनिबार सम्पन्न आठौं साधारण सभाका वक्ताहरूले सो माग गरेका हुन् । व्यवसायीहरूले कोटा प्रणाली खारेजीका लागि सरकारसमक्ष पैरवी गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले निर्वाधरूपमा व्यवसाय सञ्चालनका कोटा बढाउनुपर्ने, निर्यात प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो । पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ ।

केही सयम अगाडिसम्म दैनिक २५ किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सीमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनबाट देखिएको छ ।
महासंघको बाग्मती प्रदेशका अध्यक्ष ज्योति बज्राचार्यले सुन वितरण प्रणाली प्रादेशिक संरचना अनुरुप सन्तुलन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सुन आपूर्ति अव्यहारिक रहेको हुँदा व्यवसायी निकै मारमा परेको समेत बताउनुभयो । सो अवसरमा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यले मुलुकको मौलिक र विश्वासको भरमा चल्दै आएको सुनचाँदी व्यवसायप्रति राज्यको उदासिनताले गर्दा व्यवसाय नै क्रमशः धराशयी हुँदै गएको बताउनुभयो ।

सो अवसरमा महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य, संघका महासचिव विपीन शाक्यलगायतले कोटा प्रणालीका कारण व्यवसायमा परेको नकारात्मक असरलाई केन्द्रित गर्दै आ–आफ्नो धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्