यतीको माउन्टेन फ्लाइट सिमाराबाट



वीरगन्ज, (नेस)

यती एयरलाइन्सले वीरगन्ज र आसपास क्षेत्रका पर्यटकलाई लक्षित गरी माउन्टेन फ्लाइट शुरू गरेको छ । प्रत्येक शनिबार बाराको सिमरा विमानस्थलबाट माउन्टेन फ्लाइट शुरू भएको यती एयरलाइन्सले जनाएको छ । अहिले आन्तरिक पर्यटकलाई सगरमाथा, लाङटाङ र मकालु रेन्जका करिब एक दर्जन हिमालको दृश्यावलोकन गराइरहेको कम्पनीका हवाई सुरक्षा प्रमुख एवम् प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

तत्कालका लागि बारा, पर्सा र मकवानपुरका आन्तरिक पर्यटकलाई लक्षित गरिएको उहाँले बताउनुभयो । यतीले काठमाडौंबाहिर पोखरा र सिमराबाट यस्तो सेवा प्रदान गरिरहेको हो । यसअघि विराटनगरबाट यस्तो सेवा थालिएकोमा कोरोना महामारीका कारण बन्द भएको यतीले जनाएको छ ।

नेपाल–भारत सीमा खुलेपछि भारतीय पर्यटक आकर्षित हुने कम्पनीका सिमरा शाखा प्रमुख सुवासचन्द्र सापकोटाले बताउनुभयो । कोरोना महामारी नियन्त्रणका लागि बन्द गरिएको नेपाल–भारत सीमाबाट मानिसको आवागमन औपचारिक रूपमा नखुल्दा भारतीय पर्यटक आएका छैनन् ।केही दिनदेखि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेकाले नियमित तालिकाअनुसार उडान गर्न नसकिएको सापकोटाले बताउनुभयो ।

खराब मौसमका कारण २ वटा बुकिङ रद्द भएको र मौसमले साथ दिए निर्धारित समयमै उडान हुने उहाँले बताउनुभयो । बिहान ९ बजे सिमराबाट उडेको जहाज करिब एक दर्जन हिमाल देखाएर सवा घन्टामा सिमरामै अवतरण हुनेछ ।एक पटकको उडानमा २६ जना पर्यटकलाई हिमालको दृश्य देखाउन सकिनेछ ।

एक जना पर्यटकलाई ९ हजार ५ सय रुपियाँ शुल्क लाग्नेछ । यतीले तत्कालका लागि स्थानीय ट्राभल एजेन्सीसँगको सहकार्यमा यस्तो सेवा थालेको हो । निकट भविष्यमा नेपाली र भारतीय पर्यटकका लागि अनलाइनमार्फत बुकिङको व्यवस्था मिलाउने योजना रहेको पनि सापकोटाले बताउनुभयो ।

वीरगन्ज क्षेत्र र यो नाका भएर भित्रिने पर्यटकले अब माउन्टेन फ्लाइटका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको वीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले बताउनुभयो । सिमराबाट माउन्टेन फ्लाइट शुरू हुनु वीरगन्ज क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि सकारात्मक भएको अध्यक्ष पन्तको भनाइ छ । भारतीय पर्यटकलाई लक्षित गरी खुलेका वीरगन्ज र आसपासका होटल सीमा बन्द हुँदा समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्