टिम टेनिस नेपालको पहलमा धापाखेलमा बन्यो टेनिस एकेडेमी



फिरोज राजोपाध्याय, काठमाडौं ।

कोरोनाका कारण लकडाउन भएपछि संसारका धेरैजसो मान्छेहरूमा त्रास बनेको थियो र अहिले पनि त्यस्तै माहोल बनिरहेको छ । लकडाउनमा कति त घरमै खुम्चिएर बस्नुपरेको अवस्था छ त कतिले लकडाउनको सदुपयोग गरे । जोखिमै जोखिम अवस्था छ । तर, यस्तो जोखिम अवस्थामा धापाखेलस्थित रहेको टिम टेनिस नेपालले लकडाउनलाई एउटा अवसरको रूपमा लियो । टिम टेनिस नेपालका ८ सदस्यहरूको पहलमा ललितपुरको धापाखेलमा करिब साढे ६ रोपनी जग्गामा टेनिस कोर्टको निर्माण भएको हो ।

उक्त टिम टेनिस एकेडेमीमा तीनवटा डबल कोर्टसहित जुनियर टेनिस खेलाडीका लागि छुट्टै चारवटा गरी ७ वटा कोर्ट निर्माण भएको हो । टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले यसबारे बताए-३ वटा डबल कोर्ट बन्नुका साथै हामीले ९ वर्ष र ८ वर्ष उमेरका जुनियर खेलाडीका लागि पनि अलग कोर्ट निर्माण गरेका छौं । ९ वर्षका जुनियर खेलाडीका लागि एउटा र ८ वर्ष मुनिका जुनियर खेलाडीका लागि ३ वटा कोर्ट निर्माण गरेका हौं । नेपालमा यी उमेरका खेलाडीका लागि छुट्टै कोर्ट निर्माण भएको थिएन ।

सातदोबाटोस्थित नेपाल टेनिस संघमा पनि यस्तो छुट्टै कोर्ट छैन । सातदोबाटोमा ६ वटा डबल कोर्ट छन्, जुन सबै हार्डकोटका हुन् । त्यस्तै, पोखरा र बुटवलमा पनि यी उमेरका खेलाडीका लागि छुट्टै कोर्ट बनेको छैन । तर, टिम टेनिस नेपालका सदस्यहरूले पहिलोपटक नेपालमा ८ वर्ष मुनिका खेलाडीहरूका लागि छुट्टै कोर्ट बनाइदिएपछि भविष्यमा राम्रा तथा उत्कृष्ट टेनिस खेलाडी उत्पादन हुनेमा थप टेवा मिल्ने पक्कै छ ।

एकेडेमीका अध्यक्ष विष्टले भने— ‘बालबालिकाहरूले सिक्न चाहन्छन्, तर प्रशिक्षण र अभ्यास गर्न ठाउँ छैन । यस्तो समस्यामा ९ वर्षमुनिका बालबालिकाले अलग कोर्टमा अब अभ्यास गर्न पाउने भएका छन् । यसले नेपाली टेनिसमा नयाँ आयाम थप्ने आश गर्न सकिन्छ । यहाँ ट्रेनिङ कोर्ट, जिम गर्न जिमखाना, योगा गर्नका लागि योगा क्लास, फिटनेस र मेन्टलका लागि पनि क्लासको सुविधा रहेको छ । यो एकेडेमी बहुउद्देश्यीयको हो ।

करिब २ करोडको लागतमा बनेको धापाखेलको टीम टेनिस एकेडेमी उत्कृष्ट टेनिस खेलाडी उत्पादन गर्ने उद्देश्यले नै स्थापना भएको हो । यो टेनिस एकेडेमी बन्नका लागि जुनियर टेनिस खेलाडीका अभिभावकको आफ्नै लगानी र मेहनत लागेको छ । यो एकेडेमीले यही वर्षदेखि हरेक वर्ष ३ वटा जुनियर प्रतियोगिता गर्न लागिरहेको छ, जसमा यही वर्ष आउ“दो फेबु्रअरी १६ देखि २० तारिखसम्म विभिन्न उमेर समूहको राष्ट्रिय प्रतियोगिता गर्ने पनि अध्यक्ष विष्टले बताए ।

सातदोबाटोस्थित नेपाल टेनिस संघले सन् २०१६ देखि वर्षमा ७ वटा अन्तर्राष्ट्रिय विभिन्न उमेर समूहको प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै, राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । तर, धापाखेलमा टेनिस एकेडेमी बनेपछि नेपालमा टेनिस प्रतियोगिताको संख्या बढ्दै जाने निश्चित छ । यसले धेरै भन्दा धेरै खेलाडीलाई लाभ मिल्नेछ भने धेरै संख्यामा टेनिस खेलप्रति आकर्षण पनि बढ्नेछ । राज्यस्तरले गर्नुपर्ने काम खेलाडीका अभिभावकहरू मिलेर गरिरहेका छन् ।

यो नवनिर्मित कोर्टहरू सबै क्लेकोर्ट (माटोको कोर्ट) रहेको छ । नेपाल टेनिस संघ सातदोबाटोमा मात्रै हार्ड कोर्ट (सिमेन्टको कोर्ट) रहेको अवस्थामा नेपाली खेलाडीहरूका लागि यो क्लेकोर्ट वरदानसिद्ध हुन सक्छ । अध्यक्ष विष्टले क्ले कोर्ट र हार्ड कोर्टबीचमा भिन्नता भएको भन्दै भने– ‘क्ले कोर्ट र हार्ड कोर्टमा प्रशिक्षण गर्नु धेरै फरक हुन्छ । क्ले कोर्टमा मेन्टेन गरिरहनु त पर्छ तर चोट पटक लाग्नबाट बच्न सकिन्छ । त्यसैले, बच्चाहरूले आरामका साथ प्रशिक्षण लिन सक्नेछन् । यो नै क्ले कोर्टको विशेषता पनि हो ।

यो एकेडेमी बन्नमा पनि एउटा रोचक संजोग जोडेको छ । नेपालकी उत्कृष्ट महिला टेनिस खेलाडी अभिलाषा विष्ट १३औं सागको लागि एसईई परीक्षा दिएपछि चार महिनाको प्रशिक्षणको लागि बैंककमा गएकी थिइन् । त्यहाँ ४ महिनाकोे प्रशिक्षणपछि लगतै भएको १३औं सागमा अभिलाषा र आइरा रावतको जोडीले पाकिस्तानी डब्ल्युटिए खेलाडीको जोडीलाई क्वार्टरफाइनलमा जितेर नेपाल कांस्य पदक हात पार्न सफल भयो ।

त्यो सफलतालाई हेरेर यो टिम टेनिस नेपालले विदेशी प्रशिक्षक सिजरलाई लिएर प्रशिक्षण शुरू गरेको पनि थियो । सिजर नेपाल आएको तीन दिनपछि नै लकडाउन भएको हुनाले उनी नेपालमै बस्न बाध्य भए । उनले यो लकडाउनमा कुनै समस्यामा नरहेर जुनियर नेपाली टेनिस खेलाडीहरूलाई अनलाइनमार्फत् प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक सिजरले १० जना जुनियर खेलाडीलाई दिनको ३ घण्टा लगातार ३ महिना अनलाइनमार्फत प्रशिक्षण दिएका थिए । ३ महिनापछि नेपालमा लकडाउन खुकुलो हुन थाल्यो । यसै मौकामा नेपाली जुनियर टेनिस खेलाडीका अभिभावकहरू मिलेर एउटा टेनिस एकेडेमी स्थापना गर्ने योजना बन्यो । त्यहीअनुरूप धापाखेलमा आकर्षक टिम टेनिस एकेडेमी बनेको हो । एकेडेमीका अध्यक्ष विष्टले भने-‘प्रशिक्षक सिजरको स्पेनमा आफ्नै एकेडेमी छ ।

तर, उनले आश्वासन दिए कि नेपाली बच्चाहरूका लागि २/३ वर्ष नेपालमै बसेर प्रशिक्षण गराउनेछु । यहींबाट हामीले लकडाउनमा जग्गा लिजमा लिएर कोर्टको निर्माण गरेका हौं ।’हाल सो एकेडेमीमा ६ देखि १८ वर्षका गरी १८ जना बालबालिकाहरूले प्रशिक्षण लिइरहेका छन् ।

यसमा सिजरसहित दुईजना अरु प्रशिक्षक अनिल बस्नेत क्षेत्री र स्पेनका पाउ मार्टिनले प्रशिक्षण दिइरहेका छन् । सिजरको प्रशिक्षणले पनि राम्रो नतिजा दिएको छ । सिजरसँग प्रशिक्षणपश्चात् करिब १० महिनापछि नेपाली टेनिस खेलाडीले पाकिस्तानमा खेल्न पाएका थिए । गत नोभेम्बरमा पाकिस्तानमा आईटीएस जुनियर १८ वर्ष मुनिको वल्र्ड रेन्किङ प्रतियोगिता आयोजना भएको थियो ।

सो टेनिस प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरू अभिलाषा विष्ट, आरभ हाडा र अकी रावतले त्यहाँ राम्रो प्रदर्शन गरेर पदक जितेका थिए । आरभ र अकीको जोडीले पहिलो सर्किटमा दोस्रो स्थान हासिल ग-यो भने दोस्रो सर्किटमा पहिलो स्थान प्राप्त गरेको थियो । यस्तै, अभिलाषाले महिला एकलतर्फ दुईवटै खेलमा दोस्रो स्थान हासिल गरिन् ।

तर, उनले डबल्सतर्फ दुबै विधामा पहिलो स्थान हासिल गरेकी थिइन् । यो चाहिँ नेपाली टेनिस खेलाडीहरूको लागि ऐतिहासिक सफलता हो । अभिलाषा सो प्रतियोगितापछि विश्व जुनियर महिला टेनिस खेलाडीको -यांकिङमा ५ सय २० स्थानमा उक्लिएकी छन् । उनीे नेपालको टेनिस इतिहासमा ५ सय स्थानमा आउने पहिलो खेलाडीसमेत बनिन् ।

उक्त प्रतियोगितामा नेपालसहित पाकिस्तान, रुस, ब्रिटेन, अमेरिका, जापान गरी १२ राष्ट्रका खेलाडीहरूले भाग लिएका थिए । विश्वका उत्कृष्ट टेनिस खेलाडी उत्पादन गर्ने यी राष्ट्रका खेलाडीको माझमा पनि नेपाली खेलाडीले उत्कृष्ट नतिजा निकाल्नु कुनै चानचुने कुरा होइन । यदि, सिजर उनले भनेजस्तो २/३ वर्ष नेपालमा बसिदिएमा नेपाली खेलाडीमा विश्वमा ठूल्ठूला प्रतियोगितामा खेल्न र जित्न सक्षम हुने सम्भावना बलियो छ । यस्तै, टिम टेनिस एकेडेमीले भविष्यमा राम्रा–राम्रा खेलाडी उत्पादन गर्ने लिएको लक्ष्यमा पनि टेवा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्