यात्रुलाई खाना, वडालाई गाडी



रोशन पराजुली ।

कोरोना संक्रमण (कोभिड–१९)बाट हाल पनि हामी त्रासकै अवस्थामा छौं। शुरुआत समयमा हामीले कल्पनासमेत गर्न सकेका थिएनौं कि हामी त्यतिको लामो समयसम्म थुनिएरै बस्नुपर्छ भन्ने।

गत वर्षको चैतबाट हामी घरभित्र थुनिन बाध्य भयौं। विश्व नै भयावह स्थितिमा पुग्यो। चीनबाट शुरु भएको कोरोना भाइरसलाई नेपालमा त्यति चासोको विषयमा लिइएको थिएन। नेपालसम्म आइपुग्छ भन्ने कल्पना पनि गरिएन।

बिस्तार समय बित्दै गयो। करिब दुई महिनापश्चात् नेपालमा समेत यस रोगको डर सिर्जना भयो। मास्क, सेनिटाइजर, डिटोल र साबुन अभाव देखिन थाल्यो। के हो के हो भन्ने सबैको मनमा डर पैदा गर्न थाल्यो। बजारमा १० रुपियाँमा पाइने मास्कको मूल्य एक सय रुपियाँ पुग्यो, कालोबजारीमा। सुरक्षा सावधानी अपनाउने सामग्री सहजरूपमा नपाइएको अवस्था बन्न पुग्यो।

त्यसको असर मकवानपुरमा समेत देखिन थाल्यो। यही समय ढुंगा खोज्दा देवता मिलेजस्तै गरी हेटौंडामा रहेको सहयोगी मन नामक संस्था सबैको मनमा बस्न सफल भयो। गत वर्ष असोजमा स्थापना भएको सहयोगी मनले कोरोना कहरमा धेरैको मन जित्न सफल भयो। ३४ जनाको टिममा रहेको संस्था अध्यक्ष केदारप्रसाद चौलागाईंको नेतृत्वमा १४ जना कोरोना समयावधिभर खटिरहे।

कोरोनाको शुरुआत समयमा यसबारे कोही जानकार थिएनन्, त्रास मात्र बढी थियो। कसैलाई त के हो कोरोना भन्नेसमेत थाहा थिएन। यही प्रसंगलाई मध्यनजर गर्दै सहयोगी मन राक्सिराङ गाउँपालिकामा पुगेर कोरोनासम्बन्धी जनचेतना फैलाउन लाग्यो।

चैतबाट भएको लकडाउन, संस्थाले फागुनबाट नै जनचेतना अभियान तथा मास्क तथा सेनिटाइजर र डिटोल साबुन व्यवस्थापन गरी मनहरी गाउँपालिकाका स्थानीय, सुरक्षाकर्मीलाई बाँड्न लाग्यो। मकवानपुरका विभिन्न स्थानीय तहमा संस्था पुग्यो।

स्वास्थ्य सुरक्षा सावधानीका सामान

संस्थाले जिल्लाका विभिन्न पालिकामा स्वास्थ्य सामग्री वितरण गरेको थियो। नागरिकसँग प्रत्यक्षरूपमा सम्पर्क गर्ने निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई सामान उपलब्ध गराइयो, जसमा मिडियालाई एक सय थान सेनिटाइजर, मास्क, डिटोल साबुन। सशस्त्र प्रहरी १४ नम्बर गणका सुरक्षाकर्मीलाई चार सय थान, मनहरी प्रहरीलाई एक सय थान स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराइयो। बसपार्क तथा हेटौंडा बजारका विभिन्न ठाउँमा यात्रुलाई समेत सामग्रीहरू बाँडियो।

४५ सुत्केरीको हेरचाह

सहयोगी मनले त्यस समयमा ४५ सुत्केरीको हेरचाह गरेको थियो। जिल्लामा रहेका गर्भवतीलाई अस्पतालमा ल्याउन र सुत्केरीपश्चात् शिशुको हेरचाहका लागिसमेत उनीहरूले ज्यान दिएर लागिपरे।पौष्टिक तŒवका खानेकुरा, शिशुलाई ल्याक्टोजिनदेखि सुत्केरीलाई अस्पताल ल्याउने/पुर्‍याउनेसमेत गरियो। त्यस समयमा संस्था अध्यक्ष चौलागाईं फोन आउनेबित्तिकै गाडी लिएर दौडिन्थे।

तीन हजार यात्रुलाई खाना

लकडाउनका कारण सरकारले सबै क्षेत्र बन्द गरेसँगै यातायात क्षेत्रसमेत ठप्प गरिएको थियो। काम बन्द भएपछि विभिन्न जिल्लाबाट आफ्नो जिल्ला फर्कनुको विकल्प थिएन। काम र माम नभएका मजदुरहरूका लागि त्यस समय डेरामा बस्नुको अर्थ थिएन।

उनीहरू हिँडेर भए पनि घरको यात्रामा निस्किए। काठमाडौं, चितवन, बारा, पर्सा, रौतहट बर्दिवासदेखि बर्दियासम्म हिँडेर आउने मानिसहरू पूर्वी मकवानपुरको सिमानामा देखिन्थे। त्यही समयमा सहयोगी मन पुग्यो।

अध्यक्ष चौलागाईंको नेतृत्वमा माइक्रो लिएर गए। यात्रा गरिरहेकालाई मकवानपुरको अन्तिम नाकासम्म पु¥याउने काम भयो। चौलागाईंले यात्रामा शिशु र सुत्केरी पनि हिँडेको देखे। त्यो देखर आफ्नो मन निकै भावुक भएको उहाँले बताउनुभयो।

लकडाउनको समयमा यात्रुकै लागि भनेर कहिले पूर्वी नाका फापरबारी त कहिले पश्चिम नाका लोथरसम्म पुगे। कोही एकदिनको भोको व्यक्ति भेट्थे त कोही तीन दिनसम्मको भोका। उनीहरूलाई खानेकुरा दिएरमात्रै गाडीको यात्रामा लैजान्थे। धेरै यात्रुलाई सहयोगी मनको त्यो सहयोगले घरमा पुग्ने हौसलामा मद्दत गरेको थियो।

वडालाई गाडी

लकडाउन अवधिभर सहयोगी मनले हेटौंडाको विकट वडा–१५ लाई गाडीको व्यवस्था मिलाएको थियो। विकट वडा र यातायातको व्यवस्था हुने नभएका कारण संस्थाले गाडी नै जिम्मा दिएको थियो।

उक्त समयम अस्पतालमा उपचार नपाएर ज्यान गएको देखेर संस्थाले जिल्लामा अन्य घटना नहोस् भन्नाका लागि वडासँग सहकार्य गरेर चालक व्यवस्था गरी गाडी उपलब्ध गराएको थियो।

गाडीले सुत्केरी ओसारपसारदेखि वृद्ध तथा अपांगको उपचारमा सहज वातावरण बनाएको थियो। कुनै बेला चालक नहुँदा अध्यक्ष चौलागाईं आफै चालक बन्नुहुन्थ्यो।

विभिन्न वडामा खाद्यान्न

लकडाउनको समयमा मजदुरहरूको काम खोसिएसँगै एकछाक खानसमेत धौधौ पर्ने परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको थियो। वडाहरूमा सर्वेक्षण गरी पीडित छानेर सहयोग गरियो।हेटौंडा–१६ मा ३० घरपरिवार, हेटौंडा–१५ मा तीन सय घरपरिवारलाई खाद्यान्न र स्वास्थ्य सुरक्षा सामग्री दिइएको थियो। आवश्यकतानुसार र खबर आएअनुसार अन्य वडाका व्यक्तिलाई समेत सहयोग गरियो।

संस्थामा रहेका १४ जना त्यस समयमा निकै खटिए। अध्यक्ष चौलागाईंको नेतृत्वमा शिवप्रसाद खनाल, दीपक तिवारी, ज्ञानदास खतिवडा, राहुल प्याकुरेल, ईश्वर खतिवडा, बद्री चौलागाईं, किशोर दुलाल, बिना तिवारी, अम्बिका चौलागार्इं, आनन्द खतिवडा, मनमोहक ढकाल, रामप्रसाद शर्मा, राजकिशोर चौलागाईं थिए।संस्थाका अन्य सदस्य र उनीहरू मिलेर आफ्नै भकारीको धान जम्मा गरेर खाद्यान्न सहयोग गरेका थिए। संस्थाले कुनै व्यक्ति तथा एजेन्सीको सहयोगबिना आफ्नै खल्तीबाट सहयोगका हात अघि बढाएका थिए। कुनै दाताहरूले जिन्सीमात्र सहयोग गरेको उहाँले बताउनुभयो। उहाँहरूको त्यस अवधिमा करिब चार लाख खर्च भएको अनुमान छ।

लकडाउनको समय सम्झिँदै उहाँ भन्नुहुन्छ– ‘त्यो समय हाम्रो लागि यादगार रह्यो। हाम्रो संस्थाका लागि चुनौतीको विषय पनि बन्न पुग्यो। कतिबाट ‘कोरोना सर्छ, यिनीहरू जहाँ पायो त्यसलाई सहयोग गरेर आएको मान्छे’ भन्ने अभिव्यक्ति सुन्नुपर्‍यो।’घरको छुट्टै ठाउँमा बसेर सहयोगका हात अघि बढाइएको चौलागाईं सम्झनुहुन्छ। ‘त्यस बेला हामी हिम्मत नहारी अघि बढ्यौं र सफल पनि भयौं’, उहाँ भन्नुहुन्छ– ‘सफल त्यस कारणले भयौं कि व्यक्ति, यात्रु, मजदुर र सुत्केरीलाई गरिएको सहयोगबाट पाएको आशीर्वादले हामी सफल भएका हौं।’

संस्था जिल्लामा छोटो समयमा नाम कमाउन सफल भएको छ। हेटौंडा वडा–१६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा अपांग विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थासमेत संस्थाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्