पुनर्निर्माणको ४८८ अर्ब बजेटमध्ये ३३९ अर्ब खर्च



नेपाल समाचारपत्र, काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीसँग अनुदान सम्झौता गरिएकोमा ७० प्रतिशतले घर पुनर्निर्माण गरिसकेको र २१ प्रतिशत लाभग्राही घर पुनर्निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

ज्ञवालीले भन्नुभयो–‘८१ प्रतिशत विद्यालय, ५८ प्रतिशत स्वास्थ्य संस्था, ९० प्रतिशत, सुरक्षा निकायका ९६ प्रतिशत, पुरातात्विक सम्पदातर्फ ५१ प्रतिशत र सडकतर्फ ७० प्रतिशत पुनर्निर्माण भएका छन् ।’ पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४८८ अर्ब रुपियाँ रहेको र हालसम्म सरकार एवं दातृ निकायको समेत गरी ३३९ अर्ब रुपियाँ खर्च भइसकेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

पुनर्निर्माणको क्रममा करिब १६ करोड ६० लाख कार्य दिनबराबरको रोजगारी सिर्जना गरेको भन्दै सिमेन्ट, इँटा, छड, जस्तापाता, क्रसर एवं काठलगायतका उद्योगको प्रवद्र्धनमा टेवा पु-याएको उहाँको दाबी छ । मन्त्रिपरिषद्ले हालै प्राधिकरणको कार्य अवधि एक बर्ष थपिएकोमा २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालू आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेट अन्तर्गतका कार्यहरु कार्यान्वयन गर्ने उल्लेख गर्दै बाँकी अवधिमा लेखा स्रेस्ता अद्यावधिक गर्ने कार्य, लेखा परीक्षण गर्ने गराउने कार्य तथा प्राधिकरणको जिम्मेवारी र सम्पत्ति नेपाल सरकारले तोकेका निकायमा हस्तान्तरण गर्ने कार्यहरु हुने पनि ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्