युवालाई बिना धितो ऋण



नेपाल समाचारपत्र, पाल्पा
जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई १० लाख रुपियाँसम्म बिना धितो ऋण दिने भएको छ । कोभिडका कारण स्वदेश तथा विदेशबाट रोजगारी गुमाई गाउँ फर्किएर कृषि पशु फार्म सञ्चालन गर्न चाहेका युवाका लागि गाउँ सरकारले बिना धितो ऋण दिन थालेको हो ।
युवा, दलित, महिला तथा अल्पसंख्यक जातिलाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत बिना धितो सहुलियत दरको ऋण प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको छ । बिना धितो ऋण प्रदान गर्नको लागि गाउँपालिका र नेपाल बैंकबीच सम्झौता भई कार्यक्रम शुरू भएको छ ।
गाउँमै सबै पँर्वाधारको विकास भएकाले केही गर्न चाहने युवालाई गाउँपालिकाले १० लाख रुपियाँसम्म बिना धितो ऋणका लागि सिफारिस गर्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । उद्यमीलाई प्रोत्साहन गर्न समयमै बंैकको किस्ता बुझाउने व्यक्तिलाई पालिकाले व्याज पनि तिरिदिने र नगद समेत प्रदान गरिने पालिकाकाले जनाएको छ । गाउँपालिका र बैंंकबीच भएको सहमतिले रोजगारीका लागि विदेशिने युवाको संख्या घट्दै जाने, कृषि तथा पशुपालन उत्पादनमा वृद्धि हुँदै जाने, गाउँमा रोजगारी बढ्दै जानेमा पालिकाले विश्वास लिएको छ । दलित, महिला, अल्पसंख्यकका साथै विदेशबाट फर्किएका युवालाई स्वरोजगार तथा उद्यमी बनाउँदै आफंैमा आत्मनिर्भर बनाउन स्थानीय सरकारसँग साझेदारी गरी बिना धितो ऋण प्रवाह गर्दै आएको नेपाल बैक पाल्पा शाखाका प्रबन्धक सुरज घिमिरेले बताउनुभयो । बैकले लुम्बिनी प्रदेशका १३ वटा स्थानीय सरकारसँग सम्झौता गरी सहुलियत दरमा ऋण प्रदान गर्दै आएको छ । बैंकले तानसेन नगरपालिकामा ६६ जना युवालाई बिना धितो ३ करोड सहुलियत दरको ऋण प्रवाह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्