जनशक्ति उत्पादनका लागि १७ करोडको परियोजना



कास्की, (नेस)
उद्योग र व्यवसायीलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्धेश्यसहित नयाँ परियोजनाको पोखरामा शुरू भएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना नेपालका सातै प्रदेशमा आरम्भ गर्ने योजना अनुरुप गण्डकी प्रदेशमा मंगलबार शुरू गरिएको हो ।

कृषि, निर्माण र पर्यटन क्षेत्रलाई लक्षित परियोजना नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल तथा निर्माण व्यवसायी महासंघको संयुक्त साझेदारीमा सञ्चालन हुनेछ । युरोपियन युनियनले आर्थिक सहयोग रहने परियोजना बृटिश काउन्सिलअन्तर्गतको टिभेट प्राक्टिकल पार्टनरसिप परियोजनाको व्यवस्थापकीय सहयोगमा कार्यान्वयन हुने जनाइएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराको समन्वयमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले परियोजनाको उद्घटान गर्नुभयो । सो अवसरमा पौडेलले परियोजना दक्ष र आवश्यक श्रमशक्ति उत्पादनमा सहायक हुने भन्दै सरकार र निजी क्षेत्रले समन्वय गरेर श्रमशक्ति उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।

नेपाल सरकारद्वारा स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिना रहेको र कूल बजेट १७ करोड ९० लाख ११ हजार सात सय ३३ रुपियाँ रहेको परियोजनाका फोकल पर्सन रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले परियोजनालाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग हुने भन्दै सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार आफ्नो संस्थाले सधैं काम गर्ने भनाइ राख्नुभयो ।

साना तथा घरेलु उद्योग माहसंघ गण्डकीका अध्यक्ष हरिहर थापा, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राजेन्द्र पहारी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं परियोजना कार्यान्वयन समितिका सदस्य सुमित केडिया, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, भौतिक पँर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव रामचन्द्र श्रेष्ठ, पश्चिमाञ्चल होटल संघ महासचिव लगाएतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्