नौ महिनापछि होटल खुले



प्रताप बानियाँ, म्याग्दी ।

कोभिड–१९ का कारण ९ महिनादेखि बन्द रहेका म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र खुलेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रका होटल र धार्मिक स्थल बुधबारदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको हो ।

राउन्ड अन्नपूर्ण पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ महिनापछि खुलेका छन् । यसैगरी म्याग्दीको गलेश्वर शिवालय, पौलस्त्य पुलहाश्रम, जगन्नाथधाम तथा अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ । सरकारले जारी गरेको जनस्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गरी बन्द रहेका होटल, रेष्टुरेन्ट र धार्मिकस्थल खुला गरिएको छ ।

लामो समयसम्म होटल बन्द रहँदा व्यवसायमा पनि असर गरेकाले सुरक्षा सतर्कता अपनाएर सम्पूर्ण होटल खुला गरिएको घोडेपानीका होटल व्यवसायी बलराम पुनले जानकारी दिनुभयो । घोडेपानी टोल विकास समितिको निर्णयअनुसार होटेल व्यवसाय खुला भएको पर्यटन प्रहरीचौकी घोडेपानीले जनाएको छ । घोडेपानीमा मात्रै सानाठूला गरी करिब ३५ वटा होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा छन् ।

म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा कुल २ सय ३७ वटा होटल आबद्ध छन् । तीमध्ये २० वटा एसीसहितका होटल छन् भने ५ सय ६४ वटा एट्याच होटल रहेकोमा ७ सय ७५ वटा साधारण खालका होटल छन् । कुल ३ हजार १ सय १२ वटा बेड रहेका होटलमा एक रातमा ४ हजार ९ सय ४९ जनाको क्षमता छ । म्याग्दीको होटल क्षेत्रमा झण्डै पाँच अर्ब लगानी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्