बजेट अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता



यमलाल भुसाल, बुटवल । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गृह जिल्ला रुपन्देहीमा मंगलबार आधा दर्जन कार्यक्रममा सरकि हुँदै जिल्लामा सञ्चालित आयोजनाका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।

अर्थमन्त्री पौडेलले मंगलबार बुटवलको कालिकापथमा निर्माणाधीन सडकको निरीक्षण, कान्ति स्कुलको भवन शिलान्यास, सैनामैनामा निर्माणाधीन चक्रपथ निरीक्षण, राजस्व कार्यालय अनुगमन, तिलोत्तमामा रहेको कुन्जपार्क निरीक्षण र मानव सेवा आश्रम तिलोत्तमाको भवन शिलान्यासमा दिनभरी व्यस्त हुनुभयो ।

सैनामैनामा नेपालकै सबैभन्दा लामो ५४ किलोमिटर चक्रपथको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले आयोजनाका लागि बजेटको चिन्ता नगर्न आग्रह गर्नुभएको छ ।

सैनामैना नगरपालिकाकोे वडा नं १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करिब २० किलोमिटर उत्तरतर्फ र दक्षिणतर्फ ७ किलोमिटर चक्रपथको स्थलगत निरीक्षण गर्दै पौडेलले सैनामैना चक्रपथको आयोजना निर्माणका लागि सरकारले बजेटको प्रबन्ध मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । स्थलगत निरीक्षणका क्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरि सहभागी रहनुभएको थियो । प्रदेश सभाको ५७ करोड १२ लाख लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्की बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्